“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६९” समापन

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल र जंगी अड्डाको खेल मैदानमा जारी “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६९” को आज मिति २०६९ कार्तिक २७ गते एक समारोह बिच समापन गर्नुभयो । २. प्रतियोगिता अन्तर्गत आज सम्पन्न उपत्यका पृतना र मध्य पृतना बिचको फुटबल फाईनल खेलमा श्रीे उपत्यका पृतना ३(१ ले विजयी भएको छ । विजयी टिमलाई प्रधानसेनापति महारथी श्री राणाले फुटबलको रनिङ शिल्ड तथा नगद पुरस्कार रु.२५ हजार प्रदान गर्नुभयो । त्यसै गरि द्धितिय तथा तृतिय हुने मध्य पृतना र विशेष फौजलाई क्रमश रु.१५ हजार तथा रु.१० हजार नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहांले खेलाडीहरु, प्रशिक्षक तथा सञ्चालकहरुलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो । ३. आजै उहांले एथलेटिक्स अन्तरगत विभिन्न विधामा प्रथम स्थान हासिल गर्ने श्री मध्य पृतनालाई रनिङ शिल्ड तथा नगद पुरस्कार रु.२५ हजार प्रदान गर्नुका साथै द्धितिय तथा तृतिय स्थान हासिल गर्र्ने विशेष फौज र पूर्वि पृतनालाई क्रमश रु.१५ हजार तथा रु.१० हजार नगद पुरस्कार प्रदान गर्नुभयो । यसै क्रममा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले म्याराथुन तर्फ प्रथम हुने सिपाही कृष्ण बस्नेत र १० कि.मि. दौडमा प्रथम हुने प्युठ हरि रिमाललाई निर शम्शेर पुरस्कार क्रमशः रु.२२ हजार तथा रु.६ हजार समेत नगद पुरस्कार प्रदान गर्नुभयो । ४. समारोहमा रक्षा सचिव, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, विदेशी सैनिक सहचारीहरु तथा नेपाल खेलकुद परिषद्का सदस्य सचिव र नेपाल फुटवल संघ तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो । ५. “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६९” गत मिति २०६९ भाद्र ३१ गते देखी सुरु भएको थियो । उक्त प्रतियोगितामा समावेश गरिएका सम्पुर्ण खेलहरुमा उत्कृष्ट अंक ल्याई प्रथम हुने टिमलाई “सेना दिवस २०६९” को अवसरमा प्रधानसेनापतिबाट “प्रधानसेनापति ट्रफि २०६९” प्रदान गरिने कार्यक्रम रहेको छ ।