प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र बेलायती सेनाका सेनाध्यक्ष बीच भेटवार्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपाल भ्रमणमा रहनु भएका बेलायती सेनाका सेनाध्यक्ष (CHIEF OF THE GENERAL STAFF) General Sir Peter Wall KCB CBE ADC Gen बिच आज मिति २०६९ मंसिर ३ गते जंगी अड्डामा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । २. प्रधानसेनापति महारथी श्री ज.ब.रा. संगको शिष्टाचार भेटअघि विशिष्ट अतिथीको सम्मानमा नेपाली सेनाको एक टुकडीले जंगी अड्डामा सम्मानगारत अर्पण गरेको थियो । शिष्टाचार भेटवार्ताको अवसरमा प्रधानसेनापति महारथी श्री ज.ब.रा. र बेलायती सेनाका सेनाध्यक्षबीच आपसी हितका विषयहरुमा छलफल हुनुको साथै उपहारसमेत आदान-प्रदान भएको थियो । ३. बेलायती सेनाध्यक्ष र प्रधानसेनापति महारथी श्री ज.ब.रा. ROYAL MILITARY ACADEMY, SANDHURST मा सन् १९७४ को तालिमका सहपाठीसमेत हुनुहुन्छ । नेपाली सेना र बेलायती सेनाबीच ऐतिहासिक लामो सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा दुई मित्रराष्ट्रका पदासिन सहपाठी सेना प्रमुखहरुको यस भेटले विशेष महत्व राखेको छ । ४. यसै क्रममा बेलायती सेनाध्यक्षले आजै सम्माननीय राष्ट्रपति संग शितल निवासमा र सम्माननीय प्रधानमन्त्रीसंग सिंहदरबारमा बेग्ला-बेग्लै शिष्टाचार भेटवार्ता गर्नु भएको छ । ५. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणमा बेलायती सेनाका सेनाध्यक्षको नेतृत्वमा दुई सदस्यीय भ्रमणदल मिति २०६९ मंसिर १ गते नेपाल आएको हो ।