बेलायती सेनाका सेनाध्यक्ष General Sir Peter Wall KCB CBE ADC Gen स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणमा मिति २०६९ मंसिर १ गतेबाट नेपाल भ्रमणमा रहनु भएका बेलायती सेनाका सेनाध्यक्ष (CHIEF OF THE GENERAL STAFF) General Sir Peter Wall KCB CBE ADC Gen आज मिति २०६९ मंसिर ६ गते अपरान्ह स्वदेश फिर्ता हुनु भएको छ । २. बेलायती सेनाका सेनाध्यक्षलाई बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टर्मिनल भवनको भि.आई.पि. कक्षमा बिदाई गर्नु भएको थियो । ३. बेलायती सेनाका सेनाध्यक्ष General Wall को नेपाल भ्रमणको समयमा प्रधानसेनापति महारथी श्री गौरव शम्सेर ज.ब.रा.ले उहांको सम्मानमा मिति २०६९ मंसिर ५ गते रात्रीभोजको आयोजना गर्नु भएको थियो । उक्त अबसरमा नेपाल सरकारका मुख्य सचिव श्री लिलामणी पौडेल, रक्षा सचिव, गृह सचिव, नेपालका लागि बेलायती राजदुत, डि.एफ.आइ.डि. प्रमुख, पूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका बहालवाला तथा अबकाश प्राप्त रथीबृन्दहरु लगायत बेलायती सैनिक सहचारीको उपस्थिति रहेको थियो । ४. रात्रीभोजको स्वागत भाषणमा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले Royal Military Academy, Sandhurst मा सन् १९७४ को तालिममा सहपाठी रहंदाको समय स्मरण गर्दै नेपाल र बेलायत दुई मित्रराष्ट्रबीच झण्डै दुई शताब्दीदेखि ऐतिहासिक कुटनीतिक सम्बन्ध रहंदै आएको, दुई सेनावीचको आपसी सम्बन्ध र व्यक्तिगत तवरमा पनि निकट रहेका सम्बन्धबारे व्यक्त गर्नु भएको थियो । साथै, नेपालको वर्तमान ऐतिहासिक परिवर्तनको समयमा राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय पहिचान, नेपालको शान्ति प्रक्रिया र राष्ट्रिय एकताको सम्बद्धन गर्ने कार्यका साथै नेपाली जनताको मन जित्न नेपाली सेना सफल रहेको बताउनु भएको थियो । ५. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले विश्व शान्ति स्थापना कार्यमा नेपाल छैठौं स्थानमा रहेको र विश्व शान्ति स्थापना कार्यमा बेलायती सेनाले पुर्‍याएको योगदान साथै बेलायत सरकार र बेलायती सेनाबाट नेपाली सेनालाई प्राप्त सहयोग प्रति आभार समेत प्रकट गर्नु भएको थियो । ६. उक्त कार्यक्रममा बेलायती सेनाका सेनाध्यक्षले नेपाली सेनाले नेपालको शान्ति प्रक्रियामा खेलेको अहम् भुमिकाको प्रशंसा गर्नु भएको छ । बेलायती सेनाध्यक्षबाट वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पांचखालमा बेलायती सेनाले पनिMutual Training Exchange Programme तालिम गर्ने अवसर लिने विचार व्यक्त भएको थियो । साथै बेलायती सेनाध्यक्षले प्रधानसेनापति महारथी श्री ज.ब.रा.लाई श्रीमती सहित बेलायतको औपचारिक भ्रमणका लागि निमन्त्रणा गर्नु भएको छ ।