नेपाली सेनाबाट निर्माणाधिन नाग्मा-गमगढी सडकमा यातायात सुभारम्भ

१. सम्माननिय प्रधानमन्त्री डा. श्री बाबुराम भट्टराईले आज मिति २०६९ पौष १ गते नेपाली सेनाद्धारा निर्माणाधिन नाग्मा-गमगढी सडक (कर्णाली राजमार्ग) मा एक समारोहका साथ सार्वजनिक यातायातको शुभारम्भ गर्नु भएको छ । २. कालीकोट जिल्लाको नाग्मागाडबाट जुम्ला जिल्ला हुदै मुगु जिल्लाको गमगढी सम्मको ९३ किलोमिटर सडक निर्माण कार्य नेपाली सेनाले आर्थिक वर्ष ०६४/६५ चैत्रबाट सुरु गरेको हो । ३. यस सडक आयोजना कालिकोट जिल्लाको करिव १३००० फिट उचाईमा पर्ने घुच्चीको लेकलाई छलेर ११५०० फिट उचाईबाट ताल्चा विमानस्थल हुंदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पुग्दछ । यस आयोजनाको कुल लगत १ अर्व ५८ करोड रहेकोमा सेनाबाट हालसम्म ५४ करोड रकम खर्च भएको छ । ४. यस राजर्मागले नेपाली भाषाको उद्गमस्थल, ऐतिहासिक सिंजा उपत्यका र रारा ताल जस्तो पर्यटकिय महत्व बोकेको क्षेत्र तथा मुगु जिल्लाको सदरमुकाम गमगढीलाई राष्ट्रको यातायात संजालमा जोड्ने काम गर्दछ । निर्माण सम्पन्न पश्चात नेपालकै अति दुर्गम तथा मानव विकासमा पछाडी परेको मुगु जिल्लाका बासिन्दाले गांस, बास, स्वास्थ्य र शिक्षाको सुलभता र बिकासको अनुभव गर्न पाउने छन् । यस बाहेक मुगु जिल्लाका साथै हुम्ला, जुम्ला र डोल्पा जिल्लामा उत्पादित विभिन्न कृषि तथा निकासीजन्य बनपैदावार बस्तुहरुले पनि सुगम रुपमा बजारसम्म पुग्ने मौका पाई आयआर्जनमा टेवा पुग्ने भएको हुंदा यस कर्णाली राजमार्गको ठुलो महत्व रहेको छ । ५. उक्त उद्घाटन कार्यक्रममा माननीय अर्थमन्त्री श्री वर्षमान पुन, माननीय भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्री श्री हृदयेश त्रिपाठी, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष श्री दिपेन्द्र बहादुर क्षेत्री, प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. लगायत महालेखा परिक्षकको कार्यालयका का.मु. महालेखा परिक्षक श्री विमला सुवेदी, उप महालेखा परिक्षक श्री सुकदेव भट्टराई , भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालय तथा अर्थमन्त्रालयको सचिवहरु र रक्षा मन्त्रालयको सह सचिवहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा मध्यपश्चिमाञ्चल बिकास क्षेत्रका क्षेत्रीय प्रशासक र स्थानिय जनसमुदायको समेत उपस्थिती रहेको थियो । ६. साथै उक्त सार्वजनिक यातायात शुभारम्भ कार्यक्रममा सम्माननिय प्रधानमन्त्रीका पत्नी श्रीमती हिसिला यमी तथा नेपाली सेनाको विकाश निर्माण तथा स्थपति महानिर्देशक र व्यवस्था तथा युद्धकार्य महानिर्देशकको समेत उपस्थिती रहेको छ ।