कान्तिपुर दैनिक पत्रिकामा “चिसिंदै रक्षा–जंगी अड्डा सम्बन्ध” शिर्षकमा प्रकाशित समाचार खण्डन सम्बन्धमा

१. मिति २०६९ पौष २१ गतेको कान्तिपुर दैनिक पत्रिकाको अङ्क ३१६ मा सरोज राज अधिकारीद्धारा “चिसिंदै रक्षा–जंगी अड्डा सम्बन्ध” शिर्षकमा प्रकाशित समाचारप्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ । २. वर्तमान सरकारको रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीसँग प्रधानसेनापतिको सिधा सम्पर्क रहनु कुटनैतिक मर्यादाभित्र नै रहने हुंदा नेपाली सेनाको प्रधानसेनापतिले क्षेत्राधिकार बाहिर गएर निर्णय गरेको भन्ने खबर र रक्षा मन्त्रालयलाई बेवास्ता गर्न थालेपछि दुई निकायबीच चिसोपन बढेको भनी प्रकाशित भएको समाचार नितान्त कपोकल्पित रहेको छ । प्रधानमन्त्री एवं रक्षामन्त्री, प्रधानसेनापति र रक्षा सचिवबीच पेशागत रुपमा सुमधुर सम्बन्ध कायमै रहंदै आएको छ । ३. नेपाली सेनालाई समायानुकुल आधुनिकिकरण गर्ने सिलसिलामा प्रक्रियागत रुपमा रहेका विषयहरु जसको लागि विभिन्न कार्यदलहरु गठन भई जंगी अड्डामा रहेका जिम्मेवार विभागहरुका पदाधिकारीहरु राखी पूर्ण रुपमा अध्ययन गरिएको र तब मात्र पेश गरिएको विवरण भएको तथ्य अवगत गराईन्छ । तसर्थ मन्त्रालयमा पेश गरी आवश्यक प्रक्रिया पुरा गरी लागु गरिने विषयलाई सैनिक नेतृत्वले हल्का रुपमा लिई पिएसओज बैठकमा छलफल नचलाएको भन्ने समाचार पुर्णरुपमा गलत रहेको छ । ४. नेपाली सेनाका सबै प्रस्ताबहरु रक्षा मन्त्रालय मार्फत नै प्रक्रियागत रुपमा अगाडी बढाउंदै आईरहेको परिस्थितीमा नेपाली सेनाको संगठनात्मक संरचनाको प्रस्ताव सूचनाको हक सम्बन्धि ऐन २०६४ को मान्यता विपरित बाहिरीनुले सुरक्षाको संबेदनशिलता माथि नकारात्मक असर पुर‌‌्याएको छ । ५. राष्ट्रियता, राष्ट्रिय सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेना तथा नेतृत्व माथि नै गम्भिर आरोप लगाई प्रकाशित गरिएका समाचारहरुले आम पाठक समुहलाई भ्रम श्रृजना गर्ने मनसायले मात्र र विशेष गरी राष्ट्रिय सुरक्षालाई खलल पार्न सक्ने संवेदनशिल विषयसंग सम्बन्धित अति गोप्य कागजाद्हरुका विवरण प्रकाशित गरिनु र यसमा कतिपय गलत विवरणहरु साथ साथै प्रकाशित गरिनु दुखदायी भएको ठहर समेत गरेको छ ।