नेपाली सेनाद्धारा अग्नी एयर विमान दुर्घटनाको उद्धारमा सहयोग

१. आज मिति २०६७ भाद्र ८ गते बिहान मकवानपुरको शिखरपुर गा.बि.स.मा भएको अग्नी एयरको विमान दुर्घटनामा नेपाली सेनाको फौज तथा हवाई साधन परिचालन भई उद्धार कार्यमा सहयोग गरेको छ । २. शिखरपुरको बस्तिपुर स्थित ठाकुर माध्यमिक विद्यालय नजिक खेतमा उक्त विमान ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटना पश्चान विहान ९ बजे नै मकवानपुरको फापरवारी स्थित नेपाली सेनाको सुरक्षा वेशबाट अधिकृतको नेतृत्वमा एक सेनामुख (Platoon) फौज परिचालित भई करिब ११:३० बजे दुर्घटनास्थल पुगेको थियो । फापरवारीबाट परिचालित उक्त फौजले प्रतिकुल मौसम र विकट भौगोलिक परिस्थितीको बाबजुद पनि छोटो समयमा नै घटनास्थल पुगी सक्रिय रुपमा उद्धार कार्य सम्पन्न गरेको थियो । ३. काठमाण्डौंबाट नेपाली सेनाको उद्धार, मेडिकल र संचार टोली तथा नेपाल प्रहरी र नागरिक उड्डयन विभागका प्रतिनिधिहरु सहितको टोली लिई विहान १०:४५ बजे नेपाली सेनाको एम.आई.–१७ हेलिकप्टर घटनास्थलतर्फ उडेको थियो । तर प्रतिकुल मौसमको कारण सो हेलिकप्टर ललितपुरको माल्टामा अवतरण गरी मौसममा सुधार आएपछि दिउँसो करिब २:४५ बजे मात्र घटनास्थलमा अवतरण गरेको थियो । ४. उद्धार टोलीले दुर्घटनामा परी मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यहरुको शवहरुको टुक्राहरु संकलन गरी फिस्टेल एयर र नेपाली सेनाको हेलिकप्टरहरुद्धारा काठमाण्डौं ल्याएको थियो ।