नेपाली सेनाको प्राड विवाकले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न

१. नेपाली सेनाको प्राड विवाकले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । नेपाली सेनामा सैनिक अनुशासन कायम गर्ने र सैनिक व्यक्तिले प्रचलित नेपालको कानुन उल्लंघन गरेको खण्डमा कानुनी कारवाहीको प्रक्रिया नियमित गर्ने उद्देश्यका साथ वि.सं.२०१९ सालमा स्थापना भएको प्राड विवाकले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सव गत पुष २७ गते देखि यही माघ ५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी भव्यताको साथ मनाएको हो । २. यस क्रममा गत पुस २७ गतेदेखि यही माघ ४ गतेसम्म जंगी अड्डास्थित आर्मी अफिसर्स क्लवमा कानुनी सेमिनारको आयोजना गरिएको थियो । सो सेमिनारको यही माघ ४ गते प्रधानसेनापति महारथी श्री गौरव शमशेर ज.ब.रा.ले समापन गर्नुका साथै सेमिनारमा सहभागी प्राड अधिकृतहरुलाई सैनिक पोशाकमा लगाउने कुम व्याचसमेत वितरण गर्नुभएको थियो । यस क्रममा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले प्राड विवाकले ५० औं वसन्त पार गरेकोमा बधाई दिनुको साथै आगामी दिनहरुमा अझ उत्कृष्ट ढंगबाट न्यायिक कार्य सम्पादन गर्ने कुरामा विश्वस्त रहेको कुरा व्यक्त गर्नुभएको थियो । यसैगरी सम्बोधनको क्रममा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले कानुनको परिपालना सही र समुचित ढंगबाट गर्न र गराउन निर्देशन दिनुका साथै समयानुकुल परिमार्जन गर्न चाल्नुपर्ने कदममा आफुले कुनै कुरामा कसर बांकी नराख्ने कुरा समेत व्यक्त गर्नुभएको थियो । ३. उक्त सेमिनारमा प्राड विवाकका पूर्व प्राड प्रमुखहरु अ.प्रा.प्राड स.र.श्री दीप्त प्रकाश शाह, अ.प्रा.प्राड स.र. श्री जीव नारायण श्रेष्ठ, अ.प्रा.प्राड उ.र.श्री विए कुमार शर्माको साथै पृतना र बाहिनीमा कार्यरत प्राड अधिकृतहरु र पदिकहरु सहभागी रहेका थिए । सो सेमिनारमा श्री सर्वाेच्च अदालत, महान्याधिवक्ताको कार्यालय, प्रशासकीय अदालत, रक्षा मन्त्रालयका विज्ञ प्रतिनिधि र कानुनविद्हरुबाट कक्षा संचालन गरिएको थियो । ४. आज साँझ बार्षिक उत्सवको कार्यक्रममा सम्माननीय प्रधानन्यायाधीश श्री खिलराज रेग्मी तथा प्रधानसेनापति श्री ज.ब.रा.द्धारा संयुक्तरुपमा “प्राड विवाक जर्नल २०६९” को विमोचन हुने समेत कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सर्वोच्च अदालत, विशेष अदालत, पुनरावेदन अदालत र राष्ट्रिय न्यायिक अदालतका माननीय न्यायाधीशहरुका साथै नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु र नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, पूर्व रथीवृन्दहरु र वहालवाला उच्च अधिकृतहरुको उपस्थिती रहनेछ । ५. उक्त कार्यक्रमको फोटो कार्यक्रम समाप्त भए पश्चात पठाइने व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत जनकारी गराउँदछौं । Download JAG History