शान्ति स्थापनार्थ लेवनान खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०६९ माघ १५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNIFIL Mission, Lebanon मा तैनाथ हुन जाने श्री रणबम गण (शा.से.) ५३ औं डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre-Deployment तालिमको निरीक्षण गर्नु भएको छ । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । ३. सोही अवसरमा प्रधानसेनापति महारथी श्री राणाले विगत ५४ वर्ष भन्दा बढी समयदेखि शान्ति स्थापनामा योगदान पु¥याउंदै आएको नेपाली सेनाले हालसम्म ९४,००० सैनिकहरू ३९ वटा मिशनहरूमा पठाई सकेको र हाल ११ वटा विभिन्न मिशनहरूमा ३७३८ शान्ति सैनिकहरू कार्यरत रहेको साथै नेपाली सेना स्वदेशमा मात्र नभई विदेशमा समेत आफ्नो पेशागत दक्षताको लागि परिचित छ भन्ने कुरा, शान्ति सेनामा यसबाट भएका योगदानहरूबाट प्रमाणित भएको स्मरण गराउंदै विश्वका विभिन्न स्थानहरूमा शान्ति कायम गर्ने सत् प्रयाशमा आफ्नो प्राण अपर्ण गर्ने ५८ जना नेपाली सेनाका बहादुर सैनिकहरू प्रति भावपूर्ण श्रद्धान्जली अपर्ण गर्नु भएको थियो । ४. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले नेपाली सेना ‘नेपाल र नेपाली’ को भरपर्दाे शक्तिको रुपमा स्थापित भएको र यस शानलाई झुक्न नदिनु हामी सबैको कर्तव्य रहेको र देशको नै प्रतिनिधित्व गरी विदेशी भूमिमा आफ्नो पेशागत दक्षता, अनुशासन कर्तव्य परायणता प्रदर्शन गर्ने यस चुनौतीपुर्ण जिम्मेवारीलाई सैनिक मूल्य, मान्यता तथा आचरणहरूको ख्याल राखी अन्तर्राष्ट्रिय समुदायको अगाडी उत्कृष्ट नमूनाको रूपमा तपाईंहरूले प्रशंसनीय ढंगले पूरा गरी नेपाल र नेपाली सेनाको शिर अझ उच्च बनाउनु हुनेछ भन्नेमा आफु पूर्ण विश्वस्त रहेको बताउनु भएको थियो । ५. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले शान्ति सेनामा सहभागि हुन जाने सकल दर्जाहरुलाई पाएको जिम्मेवारीमा सफलता मिलोस् भनि मंगलमय शुभकामना समेत दिनु भएको छ । ६. उक्त कार्यक्रममा रक्षा सचिव श्री तिलकराम शर्मा लगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । श्री रणबम गण (शा.से.) ५३ औं डफ्फाको नेतृत्व प्रमुख सेनानी श्री नवराज गुरुङ्गले गर्नु भएको छ । श्री रणबम गण (शा.से.) ५३ औं डफ्फा फाल्गुनको चौथो हप्ता लेवनान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।