राष्ट्रिय सेवा दलको ४८ औं वार्षिकोत्सव तथा ३९ औं ब्याचको दिक्षान्त समारोह सम्पन्न

१. आज मिति २०६९ फाल्गुन १३ गते राष्ट्रिय सेवा दल ४८ औं वर्षमा प्रवेश गरेको बार्षिकोत्सव एवं उपत्यका भित्रको ३९ औं व्याच जुनियर डिभिजनको दिक्षान्त समारोह बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापाको प्रमुख आतिथ्यमा नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुह, सहभागी विद्यार्थीहरुको अभिभावक तथा प्रधानाध्यापकहरुको उपस्थितीमा जंगी अड्डा परिसरमा सम्पन्न भएको छ । २. उपत्यकामा संचालित उक्त तालिममा विभिन्न विद्यालयका कक्षा ७, ८ र ९ का छात्र छात्राहरु गरी जम्मा २०० जना विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा छात्र तथा छात्राहरुले ईज्जत अपर्ण कवाज, खुकुरी ड्रिल, तेक्वान्दो ड्रिल र नृत्य प्रदर्शन गरेका थिए । प्रमुख अतिथी बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापाले १०० दिने तालिममा उत्कृष्ट हुने ललितपुर जिल्लाको प्रभात उच्च मा.वि. का छात्र अंकित शाशंकर र काठमाण्डौ जिल्लाको पद्यमोदय उच्च.मा.वि.का छात्रा ऐश्वर्य योञ्जन लगायत सहभागी शिक्षार्थीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुको साथै शिल्ड तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । ३. कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बलाध्यक्ष रथी श्री थापाले राष्ट्रिय सेवा दलको वार्षिकोत्सवको उपलक्ष्यमा सकल दर्जालाई हार्दिक शुभ कामना व्यक्त गर्दै राष्ट्रिय सेवा दलको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । ४. सोही अवसरमा बलाध्यक्ष रथी श्री थापाले युवाहरुको राष्ट्र विकासमा महत्वपुर्ण भुमिका रहने विषयलाई प्रकाश पार्दै युवाहरुको ईच्छाशक्तिलाई शिक्षा, अनुशासन र ईमान्दारीताले विशेष उर्जा प्रदान गर्ने बताउनु भएको थियो । ५. बलाध्यक्ष रथी श्री थापाले तालिमको समयमा हासिल गरेका अनुशासन, सहयोगी भावना, समुहमा बसेर लक्ष्य प्राप्तिका लागि गर्ने ज्ञान र अभ्यासले व्यक्तिगत चरित्र निर्माणमा र सफल जीवनयापनमा ठुलो सहयोग मिल्ने बताउंदै जुनसुकै क्षेत्रमा कर्म गरेपनि राष्ट्रप्रति बफादार रही आफ्नो कर्तव्य पथमा अग्रसर भईरहनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । ६. यसै क्रममा बलाध्यक्ष रथी श्री थापाले राष्ट्रिय सेवा दलले युवाहरुलाई प्रशिक्षित गरेर राष्ट्रलाई सेवा प्रदान गर्न जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार लगायत सम्पुर्ण शिक्षक वर्गहरुलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्नु भएको थियो । ७. उक्त अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार सहायक रथी श्री श्याम बहादुर था.म.ले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।