श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा अभ्यास “शान्ति प्रयास–२” को समुद्घाटन कार्यक्रम सम्पन्न

१. आज मिति २०६९ चैत्र १२ गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पांचखालमा अभ्यास “शान्ति प्रयास-२” को सम्माननिय मन्त्रिपरिषद्का अध्यक्ष श्री खिलराज रेग्मीद्धारा एक विशेष समारोह बीच शान्ति दिप प्रज्वलन गरि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । २. नेपाली सेना र संयुक्त राज्य अमेरिकाको United States Pacific Command (USPACOM) को सह–संयोजकत्वमा Global Peace Operation Initative (GPOI) अन्तर्गत संचालित उक्त कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्षज्यू, प्रधानसेनापतिज्यू र USPACOM का Deputy Commander Lt Gen Thomas L Conant बाट विश्व शान्ति स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने नेपाली तथा मित्रराष्ट्रहरुका शान्ति सैनिकहरुको सम्मानमा “अमर शान्ति सैनिक स्मारक” मा माल्यार्पण गरि श्रद्धान्जली अर्पण गरिएको थियो । ३. उक्त समुद्घाटन समारोहमा सम्माननिय मन्त्रिपरिषद्का अध्यक्ष श्री खिलराज रेग्मीले अभ्यास “शान्ति प्रयास–२” सुरु भएको घोषणा गर्दै संयुक्त राष्ट्रसंघको बडापत्रप्रति नेपालको पुर्ण सम्मान, आदर र विश्वास रहेको कुरा व्यक्त गर्नु भएको छ । संयुक्त राष्ट्र संघले विश्व शान्ति र सुरक्षार्थ लिने जुनसुकै कार्यमा नेपालले सदैब समर्थन र साथ दिंदै आएको र निरन्तरता दिने कुरा समेत बताउनु भएको छ । नेपालको बैदेशिक नीति संयुक्त राष्ट्रसंघको बडापत्रले निर्दिष्ट गरेको सिद्धान्त, पंचशिलका सिद्धान्त र दक्षिण एसियाली सहयोग संगठन (सार्क) ले प्रतिपादन गरेका सिद्धान्तबाट निर्देशित रहेको कुरा समेत उल्लेख गर्नु भयो । सो अवसरमा नेपालले ९५००० भन्दा बढी नेपाली शान्ति सेना उल्लेख्य संख्यामा, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्वयं सेवकहरुको योगदान दिएको कुरा समेत स्मरण गर्नु भयो । शान्ति सेनाहरुले विश्व शान्तिका लागि गरेका समर्पण र त्यागले संयुक्त राष्ट्र संघको प्रतिष्ठा र विश्वासका लागि एक कोशे ढुंङ्गाको रुपमा स्थापित हुन अमुल्य योगदान दिएको कुरा उल्लेख गर्दै यस अभ्यासलाई संचालन गर्ने, सहयोग गर्ने USPACOM लगायत अन्य पक्षहरुलाई धन्यबाद ज्ञापन गर्दै सफलताको कामना गर्नु भएको छ । ४. उक्त कार्यक्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले १३ वर्ष अगाडी ४ राष्ट्रहरुको सहभागितामा नेपालबाटै सुरु भएको यस प्रकृतिको अभ्यासमा हाल २३ मित्रराष्ट्रहरुको सहभागिता रहनुले यसGlobal Peace Operation Initative (GPOI) को सान्दर्भिकतालाई अझ उजागर गरेको बताउंदै अन्तर्राष्ट्रिय वातावरणमा बदलिएको द्धन्द्धको प्रकृति अनुसार शान्ति सेनाले बहन गर्नुपर्ने जटिल र संवेदनशिल विषयहरु जस्तै शान्ति बाध्यकरण अप्रेशन, शान्तिपूर्ण स्थितिको निर्माण, प्रहरी सेवाको कार्य, सुरक्षा संयन्त्रको पुनर्निमाण, बारुदी सुरुङ्गको निष्कृयकरण, परम्परागत न्याय, निर्वाचनमा सहयोग र बैधानिक शासन स्थापना जस्ता विविध पक्षमा निर्वाह गर्नुपर्ने भूमिकाहरु दिनानुदिन परिवर्तन हुने भएबाट शान्ति सेनालाई प्राप्त हुने कार्यादेश र परिस्थितिको परिवर्तनले गर्दा शान्ति सैनिकहरु अहिलेको अवस्थामा सान्दर्भिक, बहुमुखी, लचिलो र ग्रहणशिल हुनु पर्ने आवश्यकता माथि प्रकाश पार्नु भएको थियो । परम्परागत शान्ति स्थापनाको कार्यादेश परिवर्तनशील भईरहेको हुंदा बहुआयामिक अवधारणा अबलम्बन गर्न सकेमा मात्र संयुक्त राष्ट्रसंघले अपेक्षा गरेको राजनीतिक, सुरक्षा, कानुनी शासन र मानव अधिकारका पक्षहरुलाई केन्द्रविन्दुमा राख्दै प्राप्त कार्यादेशलाई पुरा गर्न सकिने कुरा बताउनु भएको थियो । ५. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले वर्तमान बहुआयामिक शान्ति स्थापनाको कार्यमा साझा धारणा हासिल गर्न आ–आफ्नो क्षेत्रबाट ज्ञान र अनुभव एक आपसमा साट्न पु¥याएको भूमिकाप्रति अभ्यास “शान्ति प्रयास–२” अन्तर्गत सम्मिलित स्वदेशी तथा विदेशी शिक्षक, सहजकर्ता, विशेषज्ञहरु र सहभागी सैनिक लगायत पर्यवेक्षकहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको छ । ६. उद्घाटनका क्रममा USPACOM sf Deputy Commander Lt Gen Thomas L Conant ले अभ्यास “शान्ति प्रयास–२” संचालन गरेकोमा नेपाललाई धन्यवाद व्यक्त गर्दै अभ्यासको सफलताको कामना गरी सहभागी सबै सैनिकहरुलाई संवोधन गर्नु भएको थियो । ७. अभ्यास “शान्ति प्रयास–२” अन्तर्गत संचालन हुने Senior Training Seminar (STS), Staff Exercise (STAFF EX) र Field Training Exercise (FTX) मा नेपाल, बंगलादेश, श्रीलंका, मलेसिया, कम्बोडिया, ईन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवाण्डा, थाईल्याण्ड, घाना, जोर्डन, काजकिस्तान, ताजकिस्तान, पाराग्वे, अष्ट्रेलिया, क्यानाडा, भारत, दक्षिण कोरिया, बेलायत, भियतनाम र संयुक्त राज्य अमेरिका सहित २३ राष्ट्रहरुको सहभागिता रहेको छ । अभ्यासमा श्रीलंका, बंगलादेश, कम्बोडिया, ईन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवाण्डा र पाराग्वेका १÷१ से.मु. र जोर्डन र काजकिस्तानको संयुक्त रुपमा १ से.मु. र नेपाली सेनाको तर्फबाट २ से.मु. गरी जम्मा १२ वटा से.मु.हरु फिल्ड ट्रेनिङ्ग अभ्यासमा सहभागी हुंदैछन् । साथै Senior Training Seminar (STS) मा विभिन्न राष्ट्रहरुको तर्फबाट २८ जना र स्टाफ एक्सरसाईजमा १०४ जना स्टाफ अधिकृतहरुको सहभागिता रहेको छ । यस अभ्यासमा नेपाली सेनाको तर्फबाट ४१६ जना र विभिन्न मित्रराष्ट्रहरुबाट ४५५ जना गरी जम्मा ८७१ जना सैनिकहरुको सहभागिता रहेको छ । ८. अभ्यास “शान्ति प्रयास–२” को समुद्घाटन कार्यक्रममा नेपाली सेनाको व्याण्डद्धारा सहभागी राष्ट्रहरुका सांगितिक धुन प्रस्तुत गरिएको थियो । ९. उक्त कार्यक्रममा माननिय गृह तथा परराष्ट्रमन्त्रीज्यू, नेपाल सरकारका मुख्य सचिव, गृह सचिव, रक्षा सचिव लगायत विभिन्न मित्रराष्ट्रहरुका महामहिम राजदुतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रधानसेनापतियूहरु,USPACOM का पदाधिकारीहरु, नेपालस्थित विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरु, नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुह, विभिन्न मिडिया हाउसका संचारकर्मीहरु सहित महिला तथा सज्जनबृन्दहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।