शान्ति स्थापनार्थ UNAMID MISSION, Sudan खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०६९ चैत्र २१ गते श्री बलाध्यक्ष रथी श्री नेत्र बहादुर थापाले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNAMID MISSION, Sudan मा तैनाथ हुन जाने श्री फोर्स रिजर्भ कम्पनी तथा श्री सेक्टर रिजर्भ कम्पनी (शा.से.) सातौं डफ्फाद्वारा तालिम शिविर, सूर्यबिनायक भक्तपुरमा प्रस्तुत गरेको Pre Deployment तालिमको निरीक्षण गर्नु भएको छ । २. सो अवसरमा बलाध्यक्ष रथी श्री थापाले नेपाली सेनाको उच्च अनुशासन, अटल बफादारी, कार्यदक्षता तथा शान्ति कार्यप्रतिको प्रतिवद्धतालाई मनन् गरी संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विभिन्न मिशनहरुमा सहभागी हुन आव्हान गरे अनुरुप शान्ति स्थापना गर्ने जस्तो पवित्र कार्यमा खट्टिई अफ्रिकी महादेशको तेश्रो ठुलो मुलुक सुडानमा सहभागी हुन जान लागेकोमा बधाई दिनु हुंदै मिशनले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा तालिम शिविरमा दिईएको Mission Oriented Training बाट सकल दर्जाहरुलाई ज्ञान अभिबृद्धि हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । ३. बलाध्यक्ष रथी श्री थापाले सुडानको विषयबस्तु र परिस्थितिको जानकारी गराउंदै पेशागत रुपमा दक्ष, निस्वार्थ भावनाले प्रेरित अनुशासित र कर्मठ रही काम गर्न आवश्यक रहेको बताउनु भएको थियो । ४. बलाध्यक्ष रथी श्री थापाले शान्ति सेनामा सहभागी हुन जाने सकल दर्जाहरुलाई पाएको जिम्मेवारीमा सफलताको कामना गर्दै मंगलमय शुभकामना समेत दिनु भएको थियो । ५. उक्त कार्यक्रममा रक्षा मन्त्रालयका उप सचिव केदारनाथ शर्मा लगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । श्री फोर्स रिजर्भ कम्पनी तथा श्री सेक्टर रिजर्भ कम्पनी (शा.से.) सातौं डफ्फाको नेतृत्व सेनानी श्री छत्र बहादुर मल्ल र सेनानी श्री पुर्ण प्रसाद ढकालले गर्नु भएको छ । श्री फोर्स रिजर्भ कम्पनी तथा श्री सेक्टर रिजर्भ कम्पनी (शा.से.) सातौं डफ्फा बैशाख महिनाको पहिलो हप्ता सुडान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।