सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रथम प्रवचन सम्पन्न

१. श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आज एक विशेष समारोहकाबीच बलाधिकृत रथी श्री नेपाल भुषण चन्दले सि.सं. २० कमाण्ड तथा स्टाफ कोर्शको प्रथम प्रवचन गर्नुभयो । २. सो अवसरमा बलाधिकृत रथी चन्दले शिक्षार्थीहरुलाई सम्बोधन गर्नुहुंदै नेपाल लामो संक्रमणकालपछि एक सुनौलो सुरुवात तर्फ अग्रसर रहेको उल्लेख गर्नुहुंदै यस संक्रमणकालको सुखद अन्त्यको लागि नेपाली सेनाले माओवादी सेनाका लडाकुहरुलाई सेनामा समायोजन र तालिम प्रदान गरी महत्वपुर्ण भूमिका निर्वाह गरेको कुरा उल्लेख गर्नुभयो । नेपालको वृहत्तर दीर्घकालीन हीत, शान्ति र आर्थिक विकासको लागि अब सबैको जिम्मेवारी रहेको उल्लेख गर्दै सो अवसरमा राष्ट्र विकाश र राष्ट्रिय नीतिको लागि प्रजातान्त्रिक परिधिमा रही नेपाली सेनाले सदैव आफ्नो भूमिकालाई निर्वाह गर्न दृढ रहेको बताउनु भयो । साथै सो अवसरमा नेपाली सेना आफ्नो प्राथमिक जिम्मेवारीको अलावा विश्व शान्तिको खातिर निरन्तर विश्वका विभिन्न स्थानहरुमा संयुक्त राष्ट्र संघको मातहतमा रही शान्ति स्थापनार्थ तैनाथ रहँदै आएको स्मरण गर्नुभयो । ३. रथी चन्दले स्टाफ कलेज प्रवेश परीक्षा उत्तीर्ण गरी यस तालिममा सहभागी हुनु भएका नेपाली सेनाका अधिकृतहरुलाई बधाई दिनुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा मित्रराष्ट्रका सैनिक अधिकृतहरुलाई तालिमको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको छ । ४. उक्त तालिममा नेपाली सेनाका तर्फबाट ३० जना सेनानीहरु, नेपाल प्रहरीबाट १ जना प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरीबलबाट २ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धानका तर्फबाट १ जना प्रमुख अनुसन्धान अधिकृत लगायत मित्रराष्ट्र चीनबाट २ जना, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र मलेसियाका १/१ जना गरी जम्मा ४३ जना शिक्षार्थीहरु उक्त तालिममा सहभागी रहेका छन् । ५. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, त्रिभुवन विश्वविद्यालयका डिन तथा प्राध्यापकहरु, पूर्व शिक्षाधिकृतहरु, अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु, नेपाली सेनाका सेनानी समूह लगायत शिक्षार्थी अधिकृतहरुका भद्र महिला तथा सज्जनवृन्दहरुको उपस्थिती रहेको थियो ।