मन्त्रिपरिषद् तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षलाई नेपाली सेना सम्बन्धी जानकारी

१. सम्माननीय मन्त्रिपरिष्दका अध्यक्ष श्री खिलराज रेग्मीलाई आज मिति २०७० बैशाख ९ गते अपरान्ह जंगी अड्डामा एक कार्यक्रमका बीच नेपाली सेनाद्वारा नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको थियो । २. कार्यक्रमको प्रारम्भमा प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.ले स्वागत मन्तव्यको क्रममा स्रोत, साधनयुक्त सेनाले मात्र राष्ट्रिय उद्देश्य प्राप्त गर्न सक्ने विचार व्यक्त गर्नुहुँदै नेपाली सेना राष्ट्रिको एक महत्वपूर्ण स्तम्भ र अंग भएको यथार्थलाई हृदयङ्गम गर्दै नेपाली सेनाको समयानुकुल परिमार्जनको लागि दीर्घकालीन योजना जरुरी रहेको कुरा व्यक्त गर्नुभयो । नेपाली सेनाको आधुनिकीकरणका तहहरुमा Redesign, Regrouping and Rebalance र Restructuring को आवश्यकताबारे प्रकाश पार्नुभयो । उक्त अवसरमा नेपाली सेनाको भूमिका, जिम्मेवारी, विद्यमान अवस्था र सुरक्षा वस्तुस्थितीबारे युद्धकार्य महानिर्देशक, व्यवस्था तथा नीति निर्देशक र युद्धकार्य निर्देशकबाट ब्रिफिङ भएको थियो । ३. कार्यक्रमको अन्त्यमा सम्माननीय मन्त्रिपरिषद्का अध्यक्ष श्री रेग्मीले धन्यवाद ज्ञापन गर्नु हुँदै नेपाली सेना नेपालको सार्वभौमिकता रक्षार्थ राष्ट्रको स्थायी स्तम्भको रुपमा रहि आएको संगठनलाई Flexible, Responsive र Adaptive बनाउने प्रयत्नप्रति सैनिक नेतृत्वको सह्राहना गर्दै सेनाको आधुनिकीकरणमा नेपाल सरकारको तर्फबाट स्रोत तथा साधन उपलब्ध हुने कुरा व्यक्त गर्नुभयो । साथै सो अवसरमा नेपाली सेनाले विश्व शान्तिमा प्रदर्शन गर्दै आइरहेको कार्यलाई शसक्तरुपमा सम्पादन गर्दै नेपाल र नेपालीको गौरव, प्रतिष्ठालाई विश्वसामु कायम राख्ने विश्वास समेत व्यक्त गर्नुभयो । सोही अवसरमा अर्थमन्त्री शंकर कोइरालाले नेपाली सेनाको आधुनिकीकरणका कार्यक्रममा नेपाल सरकारको तर्फबाट आवश्यकता बमोजिम साधन स्रोतहरु उपलब्ध गराउने कुरा समेत उल्लेख गर्नुभयो । ४. उक्त अवसरमा नेपाल सरकारका माननीय गृह तथा परराष्ट्र मन्त्री श्री माधव प्रसाद घिमिरे, माननीय अर्थमन्त्री शंकर कोइराला, माननीय संस्कृती, पर्यटन तथा नागरीक उड्डयन मन्त्री रामकुमार श्रेष्ठ, मुख्य सचिव लिलामणि पौडेल, रक्षा सचिव तिलकराम शर्मा र नेपाली सेनाका रथी वृन्दहरुको उपस्थिती रहेको थियो ।