नेपाली सेनाद्वारा आगलागी नियन्त्रण

१. मिति २०७०/२/२ गतेको २१३० बजे काठमाडौ ठमेलस्थित नर्सिङ चोकमा रहेको नम्रता शाही तथा विजय शाहीको घरमा लागेको आगलागी नेपाली सेनाले आज मिति २०७०/२/३ गतेको ०६३० बजे नियन्त्रणमा लिएको छ । २. काठमाडौ गेष्टहाउसको दायाँ पट्टी रहेको नम्रता शाहीको तीन तल्ले घरको माथिल्लो तल्लामा रहेको फेसेस बारमा जेनेरेटर चलाउँदा लाईन सर्ट भई ग्यास पड्किन गई आगलागी भएको र नजिकमा रहेको विजय शाहीको घरमा समेत आगो सल्कन गई पुनः अर्को ग्यास पड्किएर आगलागी भएको थियो । उक्त आगलागी नियन्त्रणको लागि नारायणहिटीस्थित तैनाथ नेपाली सेनाको कालीबहादुर गणबाट गएको १x३८ को टोली, भद्रकालीस्थित आपूर्ति तथा परिवहन गणबाट खट्टिएको दमकल र चार वटा पानी ट्यांकर तथा अन्य सुरक्षाकर्मी र स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । ३. नेपाली सेनाको फायर फाईटीङ्ग टीमले घटना स्थलमा रहेका पसलहरुको सामान सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको साथै घाइतेहरुको प्राथमिक उपचार तथा उद्धार गरेको थियो । उक्त आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र आर्थिक तथा भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको ।