नेपाल–भारतका सैनिकहरुको सगरमाथा आरोहण तथा सरसफाई अभियान समुहको दोस्रो टोलिले सफलतापूर्वक सगरमाथा आरोहण

१. विगत १ महिनादेखि सगरमाथा वेश क्याम्प र सोभन्दा माथि संयुक्त रुपमा रहेको नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सफाई अभियान–२०१३ अन्तरगत दोस्रो तथा अन्तिम आरोहण टोलीले आज मिति २०७०/०२/०६ गतेको ०७३५ बजे सगरमाथाको सफल आरोहण गरेको छ । आरोहण दलको पहिलो टोलिले मिति २०७० जेष्ठ ५ गतेको ०९०० बजे सगरमाथाको सफल आरोहण गरेको थियो । २. सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्ने आरोहीहरुमा नेपाली सेनाका तर्फबाट सेनानी आदित्य कार्की, सहायक सेनानी भीमबहादुर भुजेल, जमदार कृष्णभक्त पौडेल, अमल्दार रमेश सदौला र अमल्दार टेकबहादुर थापा रहेका छन् । त्यसैगरी, भारतीय सेनाका तर्फबाट मेजर मनोज जोशी, सुवेदार आर.एस. जलाल, हवल्दार उल्मि कन्नत, नायक हजराई लाल, राईफल म्यानद्वय सोनाम थिन्लास र शिवराज सिंह रहेका छन् । ३. नेपाली सेना र भारतीय सेनाको संयुक्त आहोरणको Flag Off Ceremony मिति २०६९/१२/२७ गते जंगी अड्डा परिसरमा विशेष समारोहकाबीच प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले गर्नुभएको थियो । ४. मिति २०६९ चैत्र २९ गते नेपाली सेनाको तर्फवाट १२ जना आरोहिसहितको १४ जना र भारतीय सेनाको १२ जना आरोहिसहितको २० जना गरी जम्मा ३४ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । उक्त आरोहण तथा सरसफाई अभियानको टोलिले हालसम्म सगरमाथा आधार शिविर इलाकाबाट करिव २ हजार केजीभन्दा बढी परिमाणको फोहोर समेत संकलन गरिसकेको छ । सगरमाथा आरोहण तथा सरसफाई अभियानको Flag In समारोह उक्त आरोहण दल काठमाडौ फर्किसकेपछि गरिने भएको छ ।