नेपाल र भारतको संयुक्त सैनिक आरोहण दलले संकलन गरेको ४०१० के.जी. फोहोर सगरमाथा प्रदुषण नियन्त्रण समितीलाई हस्तान्तरण

१. विगत डेढ महिनादेखि सगरमाथा वेश क्याम्प र सोभन्दा माथि संयुक्त रुपमा रहेको नेपाली सेना र भारतीय सेनाका संयुक्त सगरमाथा आरोहण तथा सफाई अभियान–२०१३ ले साउथ कोल (South Col) र सो भन्दा तल रहेका विभिन्न किसिमका फोहोर मैलाहरु करिव ४०१० के.जी. संकलन गरी सगरमाथा प्रदुषण नियन्त्रण समितीका अध्यक्षलाई आज मिति २०७० जेष्ठ १३ गते नाम्चेस्थित श्री बराहदल गुल्मको हाताभित्र एक विशेष समारोहका विच हस्तान्तरण गरिएको छ । २. नेपाली सेनाको पर्वतारोहण ईतिहासमा पहिलो पटक सगरमाथामा भएको प्रदुषणलाई कम गर्ने उद्धेश्यले यस प्रकारको संयुक्त सगारमाथा आरोहण तथा सफाई अभियान २०१३ सञ्चालन गरिएको हो । विकट भौगोलिक अबस्था र चुनौतिपूर्ण मौसमका बाबजुद २२५० के.जी. जैविक रुपमा हानिकारक र १७६० के.जी. जैविक रुपमा कम हानिकारक फोहोर मैलाहरु संकलन तथा ढुवानी गरी उक्त फोहोर मैलालाई बातावरणमा प्रतिकुल असर नपर्ने गरी नष्ट गर्न स्थानीय प्रदुषण नियन्त्रण समितीलाई हस्तान्तरण गरिएको छ । आरोहण दलका केहि सदस्यहरु निर्धारित कार्यक्रम सम्पन्न गरी भोली काठमाडौ फर्कने कार्यक्रम रहेको छ भने सगरमाथा म्याराथुन दौडमा सहभागी हुनेहरु सो कार्यक्रमको समापन पश्चात फिर्ता हुनेछन् ।