नेपाल–भारत संयुक्त सैनिक सगरमाथा आरोहण तथा सरसफाई अभियान–२०१३ को Flag-In Cermony कार्यक्रम सम्पन्न

१. आज मिति २०७० जेष्ठ २७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को निमन्त्रणामा पाल्नुभएका भारतीय सेनाका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल बिक्रम सिंहPVSM, UYSM, AVSM, SM, VSM, ADC ‘नेपाल–भारत संयुक्त सैनिक सगरमाथा आरोहण तथा सरसफाई अभियान–२०१३’ को समापन (Flag-In Ceremony) कार्यक्रमलाई संयुक्त रुपमा समापन गर्ने सिलसिलामा आज विहान नेपाल आईपुग्नु भएको छ । वहांको सम्मानमा नेपाली सेनाको सम्मान गारत टोलीले आजै जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको थियो । २. प्रथम पटक सगरमाथा आरोहण गरिएको ६० वर्ष पुरा भएको हिरक जयन्तीको अवसरमा आयोजना गरिएको यो अभियानले सगरमाथा बेश क्याम्प तथा सो भन्दा माथि थुप्रिएका फोहोरहरु संकलन गर्ने उद्देश्य समेत राखी संचालन गरिएको थियो । ३. ७० दिन अवधिको उक्त कार्यक्रममा नेपाली सेनाका तर्फबाट १४ सदस्यीय टोली र भारतीय सेनाका तर्फबाट २० सदस्य सहितको टोली उक्त अभियानमा सहभागी भएका थिए । जसमा नेपाली सेनाका तर्फबाट पूर्व सगरमाथा आरोही सेनानी सुनिल सिंह राठौर टोली प्रमुखको रुपमा रहनु भएको थियो भने भारतीय सेनाको तर्फबाट पूर्व सगरमाथा आरोही Maj Ranbir Singh Jamwal रहनु भएको थियो । ४. उक्त संयुक्त सरसफाई अभियानले नेपाली सेना र भारतीय सेनाबीच र दुई छिमेकी मित्रराष्ट्रबीच रहंदै आएको परम्परागत मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउन यस अभियानले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । कठिन भौगोलिक अवस्था र प्रतिकुल मौसमका बावजुद् यस अभियान दललाई सुम्पिएको फोहोर संकलन जस्तो चुनौतिपूर्ण कार्यलाई निर्भयतापूर्वक सम्पन्न गरी सगरमाथा आधार शिविर र सो भन्दा माथिबाट करिव ४ हजार के.जी. भन्दा बढि फोहोरहरु संकलन गरी नाम्चेस्थित सगरमाथा प्रदुषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको थियो । ५. प्रधानसेनापति श्री राणाले उक्त Flag-In Ceremony कार्यक्रममा नेपाली सेनाको निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका भारतीय सेनाका स्थल सेनाध्यक्ष तथा वहांको टिम एवं उपस्थित महिला तथा सज्जनबृन्दलाई स्वागत गर्दै सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्ने आरोहीहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो । हिमाल आरोहण जस्तो चुनौतिपूर्ण र कठिन कार्यले सैनिकहरुको जीवनमा आईपर्ने शाहसिकपनालाई उजागर गर्न यस किसिमको गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाउनु भयो । नेपाली सेना र भारतीय सेनाबीच ऐतिहासिक रुपमा रहेको सहयोग र सम्बन्धलाई दुई सेनाको झण्डामुनि संचालित विगतका पर्वतारोहण अभियानमा अर्को आयाम यस पटकको सगरमाथा आरोहणले थपेको कुरा उल्लेख गर्नु भयो । सोही अवसरमा आगामी दिनमा महिलाहरुलाई समेत समावेश गरी यस किसिमका कार्यक्रमहरु संचालन गर्ने उद्देश्य रहेको जानकारी गराउनु भयो । प्रधानसेनापति श्री राणाले सो अवसरमा अन्य छिमेकी राष्ट्रहरुको सैनिक टोलिहरुसंग समेत यस प्रकारका संयुक्त हिमाल अरोहण गर्ने योजना रहेको बताउनु भएको छ । ६. सोही अवसरमा यस पटकको आरोहण हिरक जयन्ती मनाउने र सगरमाथामा थुप्रिएर रहेका फोहोरहरुलाई हटाउने अभियान स्वरुप संचालन गरिएको हुंदा यो आफैंमा फरक प्रकृतिको कार्यक्रम रहेको कुरा स्मरण गर्नु भयो । साथै वहांले यस संयुक्त अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका खेल्ने सैनिक विनय महानिर्देशनालय लगायत अन्य सम्बद्ध निकायहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै धन्यवाद ज्ञापन गर्नु भयो । ७. साथै उक्त समारोहमा भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहले संयुक्त सगरमाथा आरोहण अभियान सफल हुनुमा दुवै देशका आरोहण टोलीका सदस्यहरुको त्यागको भावना र उच्च Team Spirit भएको बताउंदै नेपाली सेना र भारतीय सेनाबीचको ऐतिहासिक र पारम्परिक सम्बन्ध आउंदा वर्षहरुमा अझै प्रगाढ हुनेमा विश्वास व्यक्त गर्नुभयो । ८. उक्त समारोहमा २१ पटक सगरमाथा आरोहण गर्ने अप्पा शेर्पा, विना अक्सिजन १० पटक सगरमाथा आरोहण गर्ने आङ्गरिता शेर्पा,Seven Sisters Ladies Expedition Group, १६ वर्षमा सगरमाथा आरोहण गर्ने सुश्री निमा चाम्जी, कम समयमा सगरमाथा आरोहण गरी किर्तिमान राख्ने पेम्बा दोर्जे, ७७ वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने मिनबहादुर शेरचन लगायत अन्य आरोहीहरुलाई समेत सम्मान गरिएको थियो । ९. सो अवसरमा नेपाली सेनाका सैनिक विनय महानिर्देशकले स्वागत मन्तव्य दिनुका साथै रक्षा सचिव तथा पर्यटन सचिवले समेत आ–आफ्नो मन्तव्य प्रस्तुत गर्नु भएको थियो । १०. उक्त समारोहमा पर्यटन व्यवसायसंग सम्बन्धित व्यक्तित्वहरु, हिमाल अरोहणका किर्तिमानी आरोहीहरु, नेपाली सेनाका पूर्व हिमाल आरोहीहरु, विदेशी सैनिक सहचारीहरु, निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, अन्य सुरक्षा अंगका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुह र पत्रकार, महिला तथा सज्जनबृन्दहरुको सहभागीता रहेको थियो ।