भर्ना छनौट सम्बन्धी नेपाली सेनाको आग्रह

१. नेपाली सेनाको वर्तमान दरबन्दीमा रिक्त अधिकृत क्याडेट, प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्धा, अमल्दार कर्मचारी, प्राविधिक अमल्दार लगायत अन्य पदहरुको निमित्त योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरेको सर्वविदितै छ । २. सैनिक ऐन २०६३ र सैनिक नियमावली २०६९ ले निर्दिष्ट गरेका प्रावधान अनुसार खुल्ला प्रतियोगितामा सहभागी भएर नेपाली सेनामा छनौट भई राष्ट्रको सेवा गर्न पाउने अधिकार हरेक नेपाली नागरिकको मौलिक अधिकार हो । तसर्थ पदपूर्ति प्रक्रियामा नियमानुसार सरिक उम्मेदवारहरुले आफ्नो योग्यता, क्षमता र उत्कृष्टता प्रदर्शन गरी सेनामा प्रतिस्पर्धात्मक परिक्षा मार्फत छनौट हुने मौका सुनिश्चित रहेको र नेपाल सरकारको सर्वमान्य सिद्धान्त अनुसार पारदर्शीता, निश्पक्षता र उत्कृष्टतालाई अबलम्बन गरिंदै आएको छ । ३. पदपूर्ति छनौट प्रक्रियाका बारेमा विभिन्न समयमा सत्यभन्दा टाढाको अनर्गल र भ्रामक टिका टिप्पणी हुने गरेको विषयमा नेपाली सेनाको ध्यानाकर्षण हुने गरेको छ । तसर्थ छनौट प्रक्रियाको कानुनी प्रक्रिया र यसमा हुने पारदर्शीता, निष्पक्षता र ईमान्दारीता भन्दा बाहिर गई व्यक्तिगत तवरमा कोही कसैबाट नियम विपरितका कुनै अवान्छित गतिविधि भएको छ भने स–प्रमाण यस सैनिक जनसम्पर्क निर्देशनालय (ईमेल armyhq@gmail.com, dpr@nepalarmy.mil.np वा टेलिफोन नम्बर ०१–४२४६१४०) मार्फत सूचित गर्न सकिने व्यवस्था रहेको छ । यसरी नियम विपरित कोही कसैबाट अवान्छित क्रियाकलाप भए गरेको वा गराएको पाईएमा कानुन बमोजिम सख्त कारवाही गरिने प्रतिवद्धता व्यक्त गरिन्छ । ४. प्रतिस्पर्धात्मक खुल्ला परिक्षा प्रणालीबाट छनौट हुन चाहने कर्मठ युवाहरुलाई आफ्नो योग्यता, क्षमता, मेहनत र ईमान्दारीलाई निर्भयका साथ प्रदर्शन गरी संशय बेगर परिक्षामा प्रस्तुत भई आफ्नो क्षमता अनुसारको परिणाम प्रति आफु ढुक्क हुन सकिने व्यहोरा सबैमा जानकारी गराईन्छ । तसर्थ कुनै पनि प्रकारको मिथ्या प्रलोभनबाट टाढा रहन सम्पुर्ण उम्मेदवारहरु तथा सम्बन्धितहरुलाई नेपाली सेना हार्दिक आग्रह गर्दछ ।