प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.द्वारा अक्सिजन प्लाण्टको समुद्घाटन

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०७० श्रावण २४ गते श्री वीरेन्द्र अस्पताल, छाउनी हाताभित्र नवनिर्मित श्री रिपुमर्दिनी अक्सिजन प्लाण्टको एक बिशेष समारोहकाबीच समुद्घाटन गर्नुभयो । २. नेपाल सरकार घरेलु तथा साना उद्योग विभागमा दर्ता भई श्री सैनिक कल्याणकारी कोषबाट संचालित श्री रिपुमर्दिनी अक्सिजन प्लाण्टको कुल लगानी ३ करोड ३० लाख ५८ हजार रहेको छ । पुर्ण क्षमतामा संचालनमा आउदा प्रति घण्टा ६० घनमिटर अक्सिजन र २० घनमिटर नाईट्रोजन उत्पादन गर्न सक्ने क्षमता रहेको यस प्लाण्टबाट उत्पादित ग्याँसको क्रमशः ९९.६ प्रतिशत र ९६–९९ प्रतिशत स्वच्छता भएको ग्याँस उत्पादन गर्ने क्षमता राख्दछ । स्वास्थ्य उपचार र औधोगिक प्रयोजनमा आउने उक्त ग्याँस श्री वीरेन्द्र अस्पतालको आन्तरिक माग (बार्षिक १ लाख ६३ हजार २ सय घनमिटर अक्सिजन) लाई परिपूर्ति गर्दै श्री सैनिक कल्याणकारी कोषको व्ययभार कम गर्ने उद्देश्य राखी स्थापना गरिएको हो । उक्त प्लाण्टलाई पुर्ण क्षमतामा संचालन गर्दा उत्पादन हुने बचत ग्याँसलाई व्यवसायीक प्रयोजनमा समेत ल्याईने योजना रहेको छ । सम्भवत आन्तरिक रुपमा उत्पादन हुने यस प्रकृतिका ग्याँसहरुको शुद्धताका दृष्टिले उत्पादित ग्याँस उच्च कोटीको र सापेक्षिक रुपमा सुपथ मुल्यमा उत्पादन तथा बिक्रि वितरण हुने छ । ३. बिविध कारणबश बजारमा अक्सिजन ग्याँसको आपुर्ति कम वा बन्द भएको अवस्थामा साथै आन्तरिक उत्पादन ठप्प भएको समयमा आपत्कालिन उपचारका लागि विभिन्न अस्पतालहरुलाई आवश्यक पर्दा समेत रिपुमर्दिनी अक्सिजन प्लाण्ट एवं उत्पादित अक्सिजन ग्याँसको प्रयोग गर्न सकिने छ । ४. उक्त उद्घाटन समारोहमा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिती रहेको थियो ।