प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७० शुरु

१. आज मिति २०७० भाद्र १६ गते लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा एक बिशेष समारोहकावीच प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७०” को उद्घाटन गर्नु भएको छ । २. उक्त कार्यक्रममा सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.व.राणाले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त समारोहमा प्रधानसेनापति, रक्षा सचिवलागयत अन्य उच्च सैनिक अधिकारीहरुले विगत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजयी एकसय जना सैनिक खेलाडीहरुलाई कदर स्वरुप अभिनन्दन गर्नु भएको थियो । समारोहको प्रारम्भमा विजेश्वरी मा.वि.का छात्राहरुले तेक्वान्दो कला प्रदर्शन तथा सहभागी ११ वटा टिमले मार्च पास प्रस्तुत गरेको थिए । ३. प्रतियोगिताको पहिलो दिन आज महिलातर्फको एकसय मिटर दौड तथा पुरुषतर्फको दुईसय मिटर र १५ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएको थियो । महिला एकसय मिटर दौडतर्फ गनर दुर्गा कुमारी देवकोटाले १२.९४ सकेण्डमा दौड पुरा गर्दै नयाँ सैनिक रेकर्ड सहित प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी गनर कृष्णा चौधरी द्धितिय र प्युठ अन्जु चौधरी तृतिय भएका थिए । पुरुषतर्फको दुइसय मिटर दौडमा प्युठ हिमाल के.सी., प्युठ मिन चौधरी र प्युठ दसीराम चौधरी क्रमशः प्रथम, द्धितिय र तृतिय भएका थिए भने पुरुष १५ सय मिटर दौडमा अम. हरि कुमार रिमाल, अम. राज कुमार बिष्ट र गनर राजन अधिकारी क्रमशः प्रथम, द्धितिय र तृतिय भएका थिए । ४. नेपाली सेनाको ६ वटा पृतना, ४ वटा निर्देशनालय र बिशेष फौज गरी जम्मा ११ वटा टिम सहभागी रहेको उक्त प्रतियोगितामा एथलेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, भलिवल, बास्केटवल र फुटवललगायतका खेलहरु समाबेश गरिएको छ । साईक्लिङ्ग प्रतियोगितालाई समेत यस बर्षबाट प्रतियोगितामा समाबेश गरिएको छ । ५. उक्त समुद्घाटन कार्यक्रममा रक्षा सचिव, बरिष्ठ रथीबृन्दहरु, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, भूतपूर्व प्रधानसेनापतिहरु, एन्फा अध्यक्ष, नेपाल स्थित बिदेशी सैनिक सहचारीहरु, रक्षा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, खेलकुद पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्द, अधिकृतलगाएत संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।