नेपाली सेना कल्याणकारी बोर्ड स्थापना सम्बन्धमा

१. आज मिति २०७० भाद्र १९ गते जंगी अड्डामा सैनिक कल्याणकारी बोर्ड स्थापना सम्बन्धमा सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । २. उक्त बैठकले सैनिक ऐन २०६३ र सैनिक कल्याणकारी कोष व्यवस्था नियमावली २०६५ अनुसार सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समिति मातहत रहने गरी वहालवाला, अवकाशप्राप्त सैनिकहरु तथा गैह्रसैनिक बिशेषज्ञहरुलाई समेत समाबेशगरी नेपाली सेना कल्याणकारी बोर्ड स्थापना गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति प्रदान गरेको छ । उक्त बोर्ड संचालन सम्बन्धी विस्तृत कार्यविधिहरु तयार गरी आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । ३. नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकल दर्जा तथा आश्रित परिवारहरुलाई शिक्षा, औषधोपचार, विमा, परिवार आवास तथा सेवा मुलक कार्यहरुको संचालन, विस्तार एवं विकेन्द्रिकरण गर्नु आजको आवश्यकता रहेको छ । नेपाली सेनाको कल्याणकारी कोषको संचालन सम्बन्धी विधिको परिधि भित्र रही देशको कुना काप्चा सम्म फैलिएर रहेका अवकाश प्राप्त तथा बहालवाला र तिनका परिवारजनहरु सम्म कल्याणकारी कार्यको पहुंचलाई विस्तार गर्ने उद्देश्य राखि गठन गरिने सैनिक कल्याणकारी बोर्डले दिगो, आत्मनिर्भर, परिणाममुखी एवं प्रणालीबद्ध सेवा प्रदान गर्न लगानी तथा आय आर्जनका थप क्षेत्रहरु पहिचान गर्ने उद्देश्य राखेको छ । ४. नेपाली सेनाको वर्तमान संख्या र अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवारजनहरुको संख्यात्मक बृद्धि अनुसार कल्याणकारी कार्यको क्षेत्र र श्रोतको परिचालनमा बृद्धि हुन जाने निश्चित छ । सिमित आय आर्जनले मात्र समग्र कल्याणकारी कार्यहरु संचालन गर्न भविष्यमा कठिन हुन जाने देखिन्छ । तसर्थ, अवकाश प्राप्त सैनिकहरुको भूमिका र योगदानलाई समेत उपयोग गरी कल्याणकारी कार्य तथा आय आर्जनको क्षेत्रलाई विस्तार गर्न सकेमा मात्र वर्तमान र भविष्यको लागि आवश्यक पर्ने श्रोत जुटाउन मद्दत पुग्नेछ । यसैगरी, सबै हिताधिकारीहरुको पृष्ठपोषण गर्ने उद्देश्यका साथ गठन हुन गईरहेको यस बोर्डले तय गर्ने लक्ष्य र संचालन गर्ने आज आर्जनका कार्यहरुले समग्र सैनिकहरुको कल्याणकारी कार्यमा सघन र गुणात्मक सेवाको प्रत्याभूति गर्न मद्दत पुग्ने देखिन्छ ।