प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. संयुक्त अधिराज्य बेलायतको सप्ताहव्यापी भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा. संयुक्त अधिराज्य बेलायतका सेनाध्यक्ष Chief of the General Staff, General Sir Peter Wall GCB CBE ADG Gen को औपचारिक निमन्त्रणामा मिति २०७० भाद्र २१ गतेबाट ऐ २६ गते सम्मको औपचारिक बेलायत भ्रमण समाप्त गरी आज मिति २०७० भाद्र २७ गते स्वदेश फिर्ता हुनु भएको छ । २. प्रधासेनापति श्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा का.मु. प्रधानसेनापति रथी श्री नेत्र बहादुर थापाले स्वागत गर्नु भएको थियो । साथै विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा रथीबृन्द, रक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारी लगायत नेपालस्थित आवसीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । ३. उक्त भ्रमणको दौरान प्रधानसेनापतिबाट वेलायती उच्चपदस्थ सैनिक अधिकारीहरुसंग भेटवार्ता गर्नु भएको थियो । भेटघाटको क्रममा आपसी पारस्परिक सम्बन्ध र नेपाल वेलायत बीच रहंदै आएको सदियौं पुरानो द्धिपक्षिय मित्रता एवं आपसी सहयोगका विभिन्न विषयहरुमा विचार आदान प्रदान भएका थिए । ४. वेलायती सरकारको तर्फबाट मानवीय सहयोग र विपद् व्यवस्थापनको लागि प्राप्त सहयोग तथा वेलायत र नेपालवीच आदान प्रदान हुने विभिन्न तालिमहरुको संख्यामा बृद्धि गर्नेतर्फ समेत पहल हुने भएको छ । नेपालमा स्थायी शान्ति स्थापनार्थ पूर्व लडाकुहरुको नेपाली सेनामा समायोजन प्रक्रियामा नेपाल सरकार र नेपाली सेनाले खेलेको भूमिकाको बेलायती सरकारका उच्च पदाधिकारीबाट प्रशंसा गर्दै आगामी संविधानसभाको निर्वाचनमा Department for International Development(DFID) द्धारा आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेको थियो । ५. यस भ्रमणबाट दुई देशबीच सदियौं पुरानो मैत्रिपुर्ण सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउन थप मद्धत पुगेको छ । साथै यस भ्रमणबाट बेलायती सेना र नेपाली सेनाबीचको सद्भाव, सम्बन्ध र सहयोगको क्षेत्रमा नयाँ आयाम थपिएको विश्वास गरिएको छ ।