नेपाली सेनाको ध्यानाकर्षण

१. छिमेकी मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bikram Singh को औपचारिक निमन्त्रणामा मिति २०७० आश्विन १३ गते देखि आश्विन १९ गते सम्म मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका दौरान प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. भारत प्रवासमा रहनु भएको सबैमा जानकारी नै छ । २. उक्त औपचारिक भ्रमणको सिलसिलामा सैनिक नेतृत्वले भारतीय सरकारका विदेश सचिव एवं भारतीय सेनाका सैनिक नेतृत्व लगायत उच्च सैनिक अधिकारीहरुसंग पूर्वनिर्धारित कार्यक्रम अनुसार भेटघाट तथा छलफल भएको बारे गत साता प्रेशित विज्ञप्तिहरु मार्फत सार्वजनिक जानकारी गराईएको थियो । ३. विगत केही दिनयता केही सञ्चार माध्यमहरुमा प्रधानसेनापति श्री राणाले नेपाल र छिमेकी मुलुकहरुको सुरक्षा र सो संग सम्बन्धित विषयबस्तुहरुमा टिकाटिप्पणी गर्दै अन्तर्वाता दिएको भन्ने समाचार तथ्यहिन र भ्रामक भएको नेपाली सेना स्पष्ट पार्न चाहन्छ । सप्ताहव्यापी उक्त भ्रमणका दौरान प्रधानसेनापति श्री राणाले सञ्चार जगतलाई कुनै किसिमको औपचारिक अन्तर्वाता नदिएको हुंदा उक्त टिकाटिप्पणी आफैंमा अप्रासङ्गिक तवरले संप्रेषण गरेको देखिन्छ । ४. नेपाली सेना एक पेशेवर, अराजनैतिक र संविधानले प्रदत्त गरेका अधिकार क्षेत्रभित्र रही नागरिक सर्वाेच्चतालाई सम्मान गर्ने संस्था हो । नेपाली सेना वा नेपाली सेनाको नेतृत्वले त्यस प्रकृतिको गैर जिम्मेवारीपूर्ण टिकाटिप्पणी गर्ने संभावना नै नरहेको र त्यस प्रकृतिको टिकाटिप्पणी सैनिक नेतृत्वबाट नभएको यथार्थ सबैलाई जानकारी गराईन्छ ।