फुलपाती बढांई कार्यक्रम सम्पन्न

१. आज मिति २०७० आश्विन २५ गते सैनिक मञ्च टुडिंखेलमा “बडादशैं २०७०” को उपलक्ष्यमा आयोजित फुलपाती बढांई कार्यक्रम सम्पन्न भएको छ । २. “बडादशैं २०७०” को उपलक्ष्यमा नेपाली सेनाले राईफलबाट पूर्व पश्चिम र दक्षिण पाटाहरुमा छिटो लहरे बढांई, बेग्ला बेग्लै एकठ्ठा बढांई, एकसाथ लहरे बढांई र आफुखुसी चारकठ्ठा बढांई गरेको थियो भने श्री राजदल गणले ५ र ९ पाउण्डर तोपबाट लहरे तथा एकठ्ठा बढांई गरेको थियो । साथै सो अवसरमा सैनिक व्याण्डद्धारा व्याण्ड प्रदर्शनी र बढाईं टोलीले ईज्जत अर्पण (मार्च पाष्ट) कवाज समेत प्रदर्शन गरेको थियो । ३. सैनिक मञ्च टुडिखेलमा आयोजित फुलपाती बढांई समारोहमा सम्माननीय राष्ट्रपति डा. श्री रामबरण यादव, सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, सम्माननीय मन्त्रिपरिषद्का अध्यक्ष श्री खिलराज रेग्मी लगायत अन्य मन्त्रीगणहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, पूर्वप्रधानसेनापति तथा पूर्वरथीबृन्दहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, रथीबृन्दहरु, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्न क्षेत्रका लब्ध–प्रतिष्ठित व्यक्तित्वहरु, सेनानी समुह तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथी सम्माननीय राष्ट्रपति ज्यूमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।