प्रधानसेनापतिद्वारा शान्ति स्थापनार्थ हाईटीमा खट्टि जाने फौजको निरीक्षण

१. आज मिति २०६७ आश्विन ११ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Stabilization Mission in Haiti (MINUSTAH) हाईटीमा तैनाथ हुन जाने श्री अह्रिदमन गण (शान्ति सेना) १२ औँ डफ्फा तथा श्री दि फेमश महिन्द्रदल गण (शान्ति सेना) आठौँ डफ्फाद्वारा संयुक्त रुपमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरिएको Pre Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भयो । सन्देशमा सम्माननीय राष्ट्रपति डा.श्री यादवले शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले दिएको योगदानको प्रशंसा गर्नुभयो । साथै गत वर्ष हाइटीमा गएको विनाशकारी भूकम्पको समयमा नेपाली शान्ति सैनिकहरुले अहोरात्र खट्टिई सुरक्षा कार्यमा देखाएको कर्तव्यनिष्ठता र कार्यक्षमताको संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय जगतमा प्रशंसनीय रहेको उल्लेख गर्दै मिशनमा खट्टिई जाने शान्ति सैनिकहरुले विगतमा जस्तै नेपाल र नेपालीहरुको छवि उच्च राख्दै शान्ति स्थापना गर्ने कार्यमा निष्ठा र ईमान्दारीताका साथ समर्पित हुनेछन् भन्ने कुरामा आफु विश्वस्त रहेको उल्लेख गर्नु भएको थियो । ३. सोही अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले शान्ति सैनिकहरुलाई सम्बोधन गर्नुहुँदै गत वर्ष हाइटीमा गएको विनाशकारी भूकम्पपश्चात परिस्थिति अझ चुनौतीपूर्ण भएको हुँदा नेपाली सेना तथा मिशन हेडक्वाटरबाट प्राप्त निर्देशनलाई पूर्णरुपमा पालना गर्दै नेपाल, नेपाली र नेपाली सेनाको छवि उच्च राख्न आ–आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न कुनै कसुर बाँकी नराख्ने आशा लिएको बताउनु भयो । ४. सम्बोधनको क्रममा उहाँले सैनिक मर्यादा विपरीत अनुशासनहिन तथा अनैतिक कार्य गर्ने जो कोही व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्दै आईरहेको स्मरण गराउनु हुँदै भविष्यमा समेत निरन्तरता दिईनेमा जोड दिनु भयो । ५. उक्त अवसरमा निमित्त रक्षा सचिव श्री श्रीधर प्रसाद पोखरेल, बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहलगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।