प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. द्धारा सुदुरपश्चिम पृतना हे.क्वा. तथा अन्तर्गतका युनिटहरुको निरिक्षण भ्रमण  

१. सुदुरपश्चिम पृतना हे.क्वा. तथा अन्तर्गतका सुरक्षा बेशहरुको निरीक्षण भ्रमणको लागि आज मिति २०७० कार्तिक २१ गते दिपायलतर्फ प्रस्थान गर्नु भएका प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.ले आजै सुदुरपश्चिम पृतना हे.क्वा.मा सुदुरपश्चिमाञ्चल क्षेत्रिय प्रशासक, नेपाल प्रहरीका क्षेत्रिय प्रमुख, शसस्त्र प्रहरी बलका क्षेत्रिय प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रिय प्रमुखहरुसंग छलफल तथा भेटघाट गरी समसामयिक परिस्थितिबारे जानकारी हासिल गर्नु भएको थियो । साथै उक्त भेटघाट पश्चात आजै सुदुरपश्चिम पृतना हे.क्वा. अन्तरगत कैलाली जिल्लास्थित जोशीपुर सुरक्षा बेशको निरिक्षण भ्रमण सम्पन्न गर्नुभएको छ । 

२. निरीक्षण भ्रमणका शिलशिलामा प्रधानसेनापति श्री राणाले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई नेपाल सरकारबाट प्राप्त कार्यादेश पुरा गर्न खट्टिएका फौजहरुसंग भेटघाट एवं चुनावलाई सहज वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासन, निर्वाचन कार्यालय एवं अन्य सुरक्षा निकायहरुसंग भए गरेका समन्वय तथा सहयोगका कार्यहरुबारे स्थलगत भ्रमण गरी जानकारी प्राप्त गर्नुभयो ।  

३. नेपाली सेना, स्थानिय प्रशासन, अन्य सुरक्षा निकाय एवं निर्वाचन कार्यालय वीच हुने समन्वयले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।