प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. द्धारा मध्य र पश्चिम पृतना हे.क्वा. तथा अन्तर्गतका निर्वाचन सुरक्षा बेशहरुको निरिक्षण भ्रमण  

१. मध्य र पश्चिम पृतना हे.क्वा. तथा अन्तर्गतका सुरक्षा बेशहरुको निरीक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.ले आज गोरखा, धादिङ्ग र नुवाकोटस्थित निर्वाचन सुरक्षा बेशहरुको निरिक्षण भ्रमण सम्पन्न गर्नु भएको छ । 

२. निरीक्षण भ्रमणका शिलशिलामा प्रधानसेनापति श्री राणाले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई नेपाल सरकारबाट प्राप्त कार्यादेश पुरा गर्न खट्टिएका फौजको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । उक्त निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति श्री राणाले नेपाली सेनालाई प्राप्त राष्ट्र र जनताप्रतिको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पन्न गर्न स्थानिय स्तरमा तैनाथ फौजहरुलाई निर्देशन दिनु भयो । चुनावलाई सहज वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासन, निर्वाचन कार्यालय एवं अन्य सुरक्षा निकायहरुसंग भए गरेका समन्वय तथा सहयोगका कार्यहरुबारे स्थलगत भ्रमण गरी जानकारी प्राप्त गर्नुभयो । साथै भ्रमण पुरा गरी प्रधानसेनापति श्री राणा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।

३. नेपाली सेना, स्थानिय प्रशासन, अन्य सुरक्षा निकाय एवं निर्वाचन कार्यालय वीच हुने समन्वयले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।