नेपाली सेना सैनिक अनुशासन, मर्यादा र व्यवसायिकता कायम गर्न कटिबद्ध

१.    ‘सैनिक ऐन २०६३’ नेपाली सेनाको दैनिक कार्य संचालन गर्ने बैधानिक र आधिकारीक दस्ताबेज हो । सैनिक ऐनमा उल्लेख भएका क्षेत्र र त्यसले निर्देशन गरे अनुसार कार्य सम्पादन गर्नु नेपाली सेना र सैनिक नेतृत्वको प्रमुख जिम्मेवारी हो । सैनिक मुल्य र मान्यता, मर्यादा, व्यवसायिकता, अराजनैतिक छवि तथा राष्ट्र र जनताप्रतिको अतुलनिय कर्तव्यपरायणता कायम गर्न नेपाली सेनाका सकल दर्जा सदैव आ–आफ्नो जिम्मेवारी प्रति समर्पित र कटिबद्ध हुन नितान्त आवश्यक छ । सैनिक ऐनले निर्दिष्ट गरेका व्यवस्थाहरुको विपरित गरिएका कार्यहरु कानुनतः क्षम्य हुन सक्दैनन् । तसर्थ, सैनिक ऐनको परिधी बाहिर गई गरिने कार्यहरुलाई निरुत्साहित पार्न र सैनिक अनुशासनलाई उच्च राख्न कठोरतम र अलोकप्रिय निर्णय लिन संगठन र नेतृत्व सदैव तत्पर हुनु पर्दछ, अन्यथा त्यसले समग्र रुपमा राष्ट्रिय सुरक्षा र राष्ट्रियहितलाई नै प्रतिकुल असर पार्न सक्दछ ।

२.    २०७० कार्तिक २७ गते समरी जनरल सैनिक अदालतले तत्कालिन उपरथी प्रेमप्रकाश था.म. र तत्कालिन सहायक रथी हेम खत्री उपर गरेको फैसलाका विषयमा केही संचार माध्यमहरुमा प्रायोजित तवरले सूचनालाई तोडमोड गरी आम जनता र सरोकारवाला पक्षहरुलाई गलत सूचना प्रवाह गरी नेपाली सेना जस्तो गैह्र राजनीतिक, व्यवसायिक र राष्ट्रिय सुरक्षाको अभिन्न अङ्गमाथि प्रहार गर्ने प्रयास भएको देखिन्छ ।

३.    नेपाली सेनाबाट कसैप्रति पुर्वाग्रह राखी वा कसैमाथि भेदभाव गर्ने उद्देश्यले कुनै व्यक्ति विशेषको आग्रह वा पुर्वाग्रहमा उक्त काम कारवाही भएको नभई सन् २०११÷१२ को लागि नेपाली सेनाको वार कलेज तालिममा सहभागी हुने उम्मेदवार छनौट प्रक्रियामा केही गुनासोहरु प्राप्त भएको भनी सो सम्बन्धमा भएको कारवाहीको जानकारी पठाउन श्री रक्षा मन्त्रालयबाट नेपाली सेनालाई पत्राचार भएकोले सो सम्बन्धमा छानविन गर्न सैनिक ऐन २०६३ र सैनिक अदालत नियमावली २०६४ को प्रक्रिया अनुसार गठन भएको छानविन समिति (कोर्ट अफ ईन्क्वायरी) को राय अनुसार तत्कालिन स.र. हेम खत्री र तत्कालिन उ.र. प्रेम प्रकाश था.म. उपर मुद्दा चलाउनु पर्ने भई सैनिक ऐन नियमको प्रक्रिया अनुसार नै सैनिक अदालत गठन भएको र निजहरुले गरेका कसुर अनुसार कानुन बमोजिम समरी जनरल सैनिक अदालतबाट सजाय प्रदान भएको हो । उक्त सैनिक अदालतले गरेको फैसला उपर चित्त नबुझ्ने पक्षले सैनिक विशेष अदालतमा पुनरावेदन दिन सक्ने व्यवस्था रहेको र सो अनुसार पुनरावेदन परी सैनिक अदालतमा उक्त मुद्दा विचाराधिन समेत रहेको अवस्थामा विचाराधिन मुद्दा माथि समेत प्रभाव पार्ने उद्देश्यबाट अभिप्रेरित भई कानुन बमोजिम भएको काम कारवाहीको सम्बन्धमा तथ्यहिन, भ्रामक र कपोलकल्पीत समाचार प्रकाशित भएकोमा नेपाली सेना खेद व्यक्त गर्दछ । त्यस प्रकृतीका कुत्सीत उद्देश्य राखी प्रकाशित गरिएका समाचार सेनामाथिको प्रहार मात्र नभई राष्ट्रिय सूरक्षाको अभिन्न अंगलाई कमजोर तुल्याउंदै अन्ततोगत्वा राष्ट्रलाई नै कमजोर र धरासायी बनाउने उद्देश्य राखेको देखिन्छ । तसर्थ, त्यस प्रकारका प्रायोजित समाचारहरुबाट भ्रमित नहुन र बास्तविकतालाई मनन् गर्न सम्बन्धित सबैैमा नेपाली सेना हार्दिक अनुरोध गर्दछ ।