समन्वयात्मक बैठक सम्पन्न

१. हिजो मिति २०६७ आश्विन १४ गते जंगी अड्डामा शुरु भएको पृतनापतिहरुको समन्वयात्मक बैठक आज अपरान्ह सम्पन्न भएको छ । २. बैठकको शुरुवातमा व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री गौरव शम्शेर ज.ब.रा.ले स्वागत मन्तब्य दिनु भएको थियो । मन्तब्यको क्रममा वहाँले विद्यमान सुरक्षा स्थिती तथा भविष्यमा आई पर्न सक्ने सुरक्षा चुनौतीहरु, संगठन सुदृढिकरणका लागि भइरहेका पहलहरु र सेनासँग सम्बन्धित अन्य समसामयिक बिषयहरुबारे प्रकाश पार्नु भएको थियो । ३. बैठकमा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको बस्तुस्थिती तथा चुनौतीहरु र भईरहेका गतिविधीहरु तथा दैनिक कार्य संचालनमा देखिएका कठिनाईहरुबारे जानकारी दिनु भएको थियो । यसैगरी, सहभागी बिभागिय प्रमुख तथा महानिर्देशकहरुबाट कार्य संचालनमा देखा परेका कठिनाईहरुलाई सहज तुल्याउन जंगी अड्डाको तर्पmबाट भईरहेका प्रयासहरुबारे अवगत गराईएको थियो । ४. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले बैठकको समापन गर्नु भएको थियो । प्रधानसेनापति महारथी श्री गुरुङ्गले समापन मन्तब्य दिनुहुँदै राष्ट्रिय एकता, स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बाह्य र आन्तरिक खतराहरुबाट पूर्ण सुरक्षित राख्न नेपाली सेनालाई अझ बढि पेशेवर, अनुशासित, उत्प्रेरित, उच्चमनोवलयुक्त, आत्मसम्मान भएको तथा गैरराजनीतिक प्रकृतिको तुल्याउँदै सेनाको आधुनिकीकरण, आन्तरिक सुधार, सकल दर्जालाई सुविधा, कल्याणकारी कार्य, शान्ति सेनामा सहभागिता, राष्ट्र निर्माणमा सहभागिता आदी पक्षहरुको कार्यान्वयन गर्नु नै नेपाली सेनाको भावी नीति तथा प्राथमिकता रहेको पुनःस्मरण गराउनु भयो । ५. नेपाली सेनाको पेशेवारिता अभिबृद्धि गर्न तालिमको अपरिहार्यतामा जोड दिनु हुँदै यस बर्षलाई पनि “तालिम बर्ष – २” को रुपमा निरन्तरता दिने नीति अबलम्वन गरिएको तथ्य औंल्याउनुका साथै सैनिक शिक्षण संस्थाहरुमा थप भौतिक संरचनाको बिस्तार र शैक्षिक गुणस्तर तथा वातावरण अभिबृद्धि गर्ने कार्यलाई प्राथमिकता दिईएको बताउनु भयो । वहाँले यसै बर्षदेखि सैनिक कमाण्ड तथा स्टाफ र माउण्टेन वारफेर तालिमहरुमा विदेशी शिक्षार्थीहरुको सहभागिताले तालिमको क्षेत्रमा एउटा नयाँ आयाम थपिएको भन्नु हुँदै भविष्यमा क्रमिक रुपमा जंगल वारफेर र प्यारा वेशिक तालिमहरुमा समेत विदेशी शिक्षार्थीहरुलाई संलग्न गराईने तथा अधिकृत आधार तालिममा समेत विदेशी शिक्षार्थीहरु संलग्न गराउन आवश्यक योजना गरिएको बताउनु भयो । ६. मन्तब्यकै क्रममा, वहाँले सम्बन्धित कमाण्डरहरुमा आफ्नो अन्तर्गतका फौजहरुलाई तालिम गराउने आफ्नो Command Responsibility हो भन्ने धारणा, शिक्षक बर्गहरुमा सिकाउँछु भन्ने भावना र शिक्षार्थीहरुमा सिक्छु भन्ने चाहना विना कुनै पनि तालिमले निर्दिष्ट उद्देश्य हासिल गर्न नसक्ने शाश्वत सत्यताको स्मरण गराउनु हुँदै तालिमहरुलाई गुणस्तरिय तथा उपलब्धीमूलक बनाउनु पर्नेमा जोड दिनु भयो । ७. वहाँले नेपाली सेनालाई समयानुकुल आधुनिकीकरण गर्न उपलब्ध बजेटबाट प्राथमिकताका आधारमा आवश्यक सैनिक सामग्री तथा उपकरणहरु जुटाउने प्रयास भईरहेको र सोही सन्दर्भमा नेपाली सेनाले १० बर्षे दिर्घकालिन गुरु योजना एवं विद्यमान संगठनको पुनरावलोकन तथा पुनर्संरचना सम्बन्धी प्रस्तावित योजना नेपाल सरकार समक्ष पेश गरी सकिएको जानकारी गराउनु भयो ।