ध्यानाकर्षण

१. मित्रराष्ट्र बेलायतका सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले गर्नुहुने बेलायत भ्रमणको सन्दर्भमा आज विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित समाचारहरुप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ । २. नेपाल र मित्रराष्ट्र बेलायत तथा दुई मुलुकका सेनाहरुबीच बिगत ऐतिहासिककालदेखि नै पारस्परिक सुमधुर सम्बन्ध कायम रहँदै आएको छ । यसै क्रममा दुई मुलुकका सेनाका सेनाध्यक्षहरुबाटसमेत आपसी सम्बन्ध सुदृढ गर्दै द्विपक्षीय हितलाई बढावा दिने अभिप्रायले समय समयमा पारस्परिक र सौहार्दपूर्ण भ्रमण कार्यक्रमहरु हुँदै आएको व्यहोरा विदितै छ । ३. सोही सिलसिलामा नेपाली सेनाका प्रधानसेनापति महारथी श्री गुरुङ्गको औपचारिक निमन्त्रणामा बेलायती सेनाका तत्कालिन सेनाध्यक्ष General Sir David Julian Richards ले मिति २०६६ माघ २३ गते (तदानुसार ०६ फेब्रुअरी २०१०) देखि मिति २०६६ माघ २७ गतेसम्म (तदानुसार १० फेब्रुअरी २०१०) नेपालको भ्रमण गर्नु भएको थियो । ४. त्यसै गरी बेलायती सेनाका सेनाध्यक्षबाट मिति २०६६ पौष ३० गते (तदानुसार १४ जनवरी २०१०) प्राप्त औपचारिक निमन्त्रणा बमोजिम आज मिति २०६७ आश्विन १७ गते प्रधानसेनापति महारथी श्री गुरुङ्ग, वहाँकी धर्मपत्नीका साथै रथीबृन्द तथा अधिकृतसहित मित्रराष्ट्र बेलायतको भ्रमणमा प्रस्थान गर्नु भएको हो । ५. प्रधानसेनापति महारथी श्री गुरुङ्गको बेलायत भ्रमणको विस्तृत एजेण्डा सम्बन्धमा यस निर्देशनालयबाट हिजो मिति २०६७ आश्विन १६ गते बिज्ञप्ती प्रेशित गरिएअनुसार सबै सञ्चारमाध्यमहरुमा प्रकाशित एवं प्रसारित भइसकेको छ । उक्त भ्रमण कार्यक्रम पूर्व निर्धारित एजेण्डाहरुमा मात्र केन्द्रित रहने र समाचारमा प्रकाशित तथा प्रशारित मानव अधिकारलगायत एजेण्डामा समावेश नभएका अन्य कुनै पनि विषयमा छलफल नहुने व्यहोरा यसै बिज्ञप्तीद्वारा जानकारी गराईन्छ । ६. मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनप्रति नेपाली सेना सदा प्रतिबद्ध रहँदै आएको र प्रमाण जुटेका मानव अधिकार हननकर्ताहरुलाई प्रचलित कानून बमोजिम कारवाही गरिँदै आएको छ । साथै मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको संरक्षण र सम्बद्र्धन गर्नमा नेपाली सेनाले शुन्य सहिष्णुताको सिद्धान्त (Zero Tolerance Policy) अबलम्वन गर्दै आएको व्यहोरासमेत जानकारी गराईन्छ ।