प्रधानसेनापतिद्धारा नेपाली सेना भू.पु. सैनिक सम्मेलन (सुदूर पश्चिम)–२०७० मा भू.पु. सैनिकहरुसंग भेटघाट तथा कार्यक्रमको समापन

१. आज मिति २०७० माघ २९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा संचालन भएको भू.पु. सैनिक सम्मेलन (सुदूर पश्चिम)–२०७० मा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको थियो । मिति २०७० माघ २७ गतेदेखि सञ्चालन भएको उक्त सम्मेलनलाई प्रधानसेनापति श्री राणाले आज एक विशेष समारोहकाबीच समापन गर्नु भएको छ ।
२. प्रधानसेनापति श्री राणाले समापन सम्बोधनको क्रममा नेपाल एकिकरणको अभियानदेखि नै नेपाली सेनाले राष्ट्रप्रति गर्दै आएको अटुट योगदानको कारण नेपाली समाजमा एक भरपर्दाे संगठनको रुपमा स्थापित भएको कुरा व्यक्त गर्नुभयो । साथै, चुनौतिपूर्ण क्षणहरुमा पनि आफ्नो कर्तव्यपथमा अविचलित रही निरन्तर नेपाल र नेपालीको सेवामा खट्टिदै आएको नेपाली सेनाले नेपाली समाजको शान्ति, स्थिरता एवं प्रगतिको निमित्त स्वदेश एवं विदेशमा कर्तव्यपालनको सिलसिलामा प्राण उत्सर्ग गर्ने नेपाली सेनाका सम्पूर्ण बीर सपुतहरुप्रति भावपूर्ण हार्दिक श्रद्धान्जलि अर्पण गर्नुभयो । यसरी देश र जनताको खातिर प्राप्त जिम्मेवारी तथा कर्तव्यलाई उच्चस्तरबाट निर्वाह गर्ने कार्यमा अहम् भूमिका खेल्ने बहालवाला तथा भूतपूर्व सैनिकहरुको निस्वार्थ सेवाको सदैव उच्च कदर हुनुपर्ने कुरामा जोड दिनुभयो । 
३. सोही अवसरमा विद्यमान सैनिक ऐनले सैनिक कल्याणकारी कोषको संचालन तथा व्यवस्थापनको गहन जिम्मेवारी प्रधानसेनापतिलाई दिएको हुंदा उक्त जिम्मेवारी गम्भिरताका साथ लिई सबैलाई समेट्न सक्ने, आर्थिक रुपमा सम्भाव्य एवं दिगो कल्याणकारी योजना संचालन गर्ने, कल्याणकारी गतिविधिलाई विकेन्द्रित गर्ने तथा भूतपूर्व सैनिकहरुको भूमिका र महत्वलाई समेत समावेश गर्नुपर्ने आवश्यकता देखिएको कुरा औल्याउनु भयो । यसै परिप्रेक्ष्यमा नेपाली सेनाको बृहत कल्याणकारी छाताभित्र रही प्रणालीबद्ध, आत्मनिर्भर र पारदर्शी रुपमा आय तथा सेवामुलक कार्यहरु संचालन गरी दिगो एवं प्रभावकारी कल्याणकारी कार्यलाई विकेन्द्रित गर्नु नेपाली सेनाको प्रमुख प्राथमिकता हुने बताउनु भयो । हाल करिव ८ लाख हिताधिकारी संख्या पुगिसकेको परिप्रेक्ष्यमा र भविष्यमा बढ्दै जाने हिताधिकारीको संख्या र तिनको आवश्यकतालाई सम्बोधन गर्ने, सबैको भावना र चाहनालाई समेट्ने, आर्थिक रुपमा आत्मनिर्भर, संभाव्य र दिगो, समयानुकुल, विकेन्द्रिकृत कल्याणकारी कार्यक्रम र योजना सुरु गर्न जरुरी भईसकेको हुंदा सैनिक कल्याणकारी बोर्ड गठन गरी आगामी कल्याणकारी कार्यहरुलाई अगाडी बढाउने बारे जानकारी गराउनु भयो । 
४. आजै प्रधानसेनापति श्री राणाले बोराडाडी व्यारेकमा नेपाली सेना कल्याणकारी बोर्डको पहिलो क्षेत्रिय कार्यालय ९भ्उष्अभलतचभ० को शिलान्यास गर्नुभयो । उक्त सम्मेलनको दौरान नेपाली सेनामा प्रथम पटक पाईलट प्रोजेक्टको रुपमा लघुबित्त आयोजना ९ःष्अचय ँष्लबलअभ एचयवभअत० नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा संचालन गरिएको थियो, जसमा ३४ जना सहभागी भएका थिए । जसमध्ये ५ जनाले १ देखि २ लाखसम्म न्युनतम व्याजदरमा लघुबित्त कर्जा प्राप्त गरेका थिए । यसैगरि, सम्मेलनकै सिलसिलामा प्रधान सेनापति महारथी श्री राणाले शारीरिक रुपमा अशक्त ६ जना भूतपूर्व सैनिक तथा तीनका परिवारलाई व्हील चियर प्रदान गर्नु भएको थियो । 
५. उक्त अवसरमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले समापन मन्तव्य राख्नु हुंदै हिजोका सैनिक आजका भू.पु. र आजका सैनिक भोलीका भू.पु. भन्ने बास्तविकतालाई मनन् गर्दै रोजगारमुखी तालिमको अभाव र आर्थिक तथा व्यवसायिक गतिविधि संचालन गर्न पुंजीको कमीले गर्दा भूतपुर्व सैनिक तथा तिनका परिवारहरुको स–साना व्यवसायिक तथा आर्थिक क्रियाकलापहरुमा पहुंच पुग्न नसकेको तथा यस परिवेशमा “सैनिक कल्याणकारी कोष” को विविध गतिविधिहरुलाई समग्रमा पुनरावलोकन गरी सबैको भावना र चाहनालाई समेट्दै नेपाली सेनामा आर्थिक रुपमा संभाव्य र दिगो हुने कल्याणकारी कार्यक्रम लागु गर्ने सिलसिलामा शिक्षा र स्वास्थ्य जस्ता आधुनिक समाजका आधारभूत आवश्यकताहरुलाई नेपाली सेनाले आफ्नो कल्याणकारी कार्यक्रमको मुख्य केन्द्रविन्दु बनाउंदै उक्त कल्याणकारी कार्यलाई विकेन्द्रित र विस्तार गर्दै महाविद्यालय, विद्यालय र प्रतिष्ठानहरुको साथ साथै स्वास्थ्य क्षेत्रमा पनि स्थानियस्तरमा पोलिक्लिनिक क्षेत्रीय स्तरमा ५० शैयाको अस्पताल र केन्द्रियस्तरमा भेट्रान्स अस्पताल क्रमिक रुपमा बनाउने योजना रहेको बताउनु भएको थियो
६. उक्त समारोहमा सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत अवकाश प्राप्त रथी श्री चित्र बहादुर गुरुङ्गले कल्याणकारी बोर्ड र त्यसको औचित्य एवं भविष्यमा गरिने कार्यहरुका विषयमा प्रकाश पार्नु भएको थियो भने उक्त समारोहमा सुदूर पश्चिमाञ्चल क्षेत्रका भूतपूर्व सैनिकहरुको तर्फबाट अवकाश प्राप्त सहायक रथी श्री गोपाल सिंह बोहराले यस भु.पु. सैनिक सम्मेलनमा कल्याणकारी बोर्डको तर्फबाट विविध कार्यक्रमहरु संचालन गरी भू.पु. सैनिकहरु प्रति नेपाली सेनाले प्रदर्शन गरेको सामिप्यता एवं सहकार्य गर्ने प्रयासको सह्राना गर्दै धन्यवाद मन्तव्य राख्नु भएको थियो । 
७. विगत डेढ दशकदेखि संचालन नभएको यस किसिमको सम्मेलन यस वर्षदेखि आयोजना गर्न कार्य शुरु भएको छ । धनगढीमा सञ्चालन गरी शुरुवात गरिएको यस प्रकारको सम्मेलन आगामी वर्षहरुमा अन्य विकास क्षेत्रहरुमा पनि सञ्चालन गर्ने योजना रहेको छ । सम्मेलनमा नेपाली सेनाबाट अवकाश प्राप्त सुदूर पश्चिमाञ्चल क्षेत्रका करीब १ हजार ५ सय भूतपूर्व सैनिक तथा सैनिकका निवृत्तिभरणमा रहेका परिवारजनको उपस्थिति रहेको थियो । यस किसिमको सम्मेलनबाट नेपाली सेना र भूतपूर्व सैनिकहरुकाबीच सामिप्यता, सहकार्य, सहयोग र स्वावलम्बन एवं आत्मनिर्भर बन्नका लागि अभिप्रेरित गर्दै समग्रमा राष्ट्रिय हित एवं समुन्नतीमा हातेमालो गर्दै अगाडी बढ्ने अवसर प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।