प्रधानसेनापति महारथी गुरुङ्ग संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा प्रस्थान

१. मित्रराष्ट्र बेलायती सेनाका सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको नेतृत्वमा चार सदस्यीय भ्रमण दल आज मिति २०६७ आश्विन १७ गते बिहान त्यसतर्फ प्रस्थान गरेको छ । २. बेलायत प्रस्थान गर्नु पूर्व प्रधानसेनापति महारथी श्री गुरुङ्गलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति बिशिष्ट कक्षमा बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले हार्दिक विदाई गर्नुभएको थियो । बलाध्यक्ष रथी श्री सिंहको अलावा बेलायती महामहिम राजदुत श्री जोन एन्थोनी टक्नट्, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बिदेशी सैनिक सहचारीहरुले समेत वहाँलाई बिदाई गर्नुभएको थियो । ३. वहाँको अनुपस्थितीमा बलाध्यक्ष रथी श्री सिंहले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । ४. बेलायत भ्रमणको दौरान प्रधानसेनापति महारथी श्री गुरुङ्ग निम्न कार्यक्रमहरुमा सहभागी हुनु हुनेछ ।
  • (क) मिति २०६७ आश्विन १८ गते साँझ बेलायती सेनाध्यक्ष General Sir Peter Wall KCB CBE ADC Gen ले वहाँको सम्मानमा आयोजित रात्रीभोजमा सरिक हुनु हुनेछ ।
  • (ख) यसै गरी, ऐ. १९ गते बिहान Horse Guards Parade मा 1st Battalion Grenadier Guards ले वहाँलाई सम्मान गारत ( Guard of Honour) अर्पण गर्नेछ । त्यसपछि वहाँले बेलायती सेनाध्यक्ष General Sir Wall सँग शिष्टाचार भेटघाट गर्नु हुनेछ । सोही दिन अपरान्ह वहाँले परराष्ट्र तथा राष्ट्रमण्डल कार्यालयमा अवस्थित South Asia and Afghanistan Directorate का निर्देशक Karen Pierce र Department for International Development का Permanent Under Secretary, Minouche Shafik सँग शिष्टाचार भेटघाट गर्नु हुनेछ ।
  • (ग) ऐ. २० गते वहाँले बेलायती स्थल सेनाको मुख्यालय, बृगेड अफ गोर्खाज्को मुख्यालय, Gurkha Welfare Trust र गोर्खा संग्रहालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
  • (घ) यसै गरी, ऐ. २१ गते बिहान 2nd Battalion The Royal Gurkha Rifles र अपरान्ह लण्डनस्थित नेपाली राजदुतावासको भ्रमण गर्नु हुनेछ ।
  • (ङ) ऐ. २२ गते बिहान वहाँले बेलायती Defence Academy को भ्रमण गर्नु हुनेछ । यसै गरी, सोही साँझ नेपाली राजदुतावासमा वहाँको सम्मानमा आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुनेछ ।