सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता (MSTC-I) को समापन

१. आज मिति २०७० फाल्गुन २६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा नेपाली सेनाद्धारा आयोजित सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता (Military Science and Technology Competition - I)  को समापन कार्यक्रम सम्पन्न भएको छ । 

२. कार्यक्रममा प्रमुख अतिथि प्रधानसेनापति श्री राणाले उक्त प्रतियोगिताको अवलोकन गर्नु भएको थियो भने प्रतियोगितामा सहभागी भई Military Applicable Product  तर्फ प्रथम हुने Freelancer समुहको A Design of an Intelligent Combat Robot for war fields with bomb disposal system लाई प्रमाणपत्र तथा नगद रु.२ लाख, द्धितिय हुने Golden Gate College  को Fighter and Bomb Disposal Robot/Fighter Jet  लाई प्रमाणपत्र तथा नगद रु.५० हजार प्रदान गर्नुका साथै प्रतियोगिताका निर्णायकहरुलाई प्रशंसापत्र प्रदान गर्नु भएको थियो । साथै अन्य उत्कृष्ट ८ समुहहरुलाई बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणा तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST)  का उपकुलपति सुरेन्द्रराज काफ्लेले प्रत्येक समुहलाई सान्त्वना पुरस्कार स्वरुप प्रमाणपत्र तथा नगद रु.१० हजार प्रदान गर्नु भएको थियो ।

३. मिति २०७० फाल्गुन २५ गते ईच्छुक व्यक्तिहरु, शिक्षण संस्था र सर्वसाधारणको लागि निःशुल्क प्रवेश सहित खुला गरिएको उक्त प्रतियोगितामा आज सेनासंग सम्बन्धित व्यक्तिहरुको लागि खुला गरिएको थियो । 

४. उक्त कार्यक्रममा रथीबृन्द, अधिकृत, सेना संग सम्बन्धित व्यक्ति तथा संघ संस्थाहरु, संचारकर्मी लगायत नेपाली सेनाका सकल दर्जाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

५. नेपालमा रहेका विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशिल संघ–संस्था तथा व्यक्तिहरुलाई प्रोत्साहित गरि नेपाली सेनाको लागि आवश्यक प्रविधि विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगिताले नेपाली सेनालाई आवश्यक पर्ने प्रविधिको स्थानिय तवरमा स्वेदशमै विकास गर्न, यस क्षेत्रसंग सम्बन्धित शैक्षिक संघ संस्था, सरकारी निकाय तथा निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याई सैनिक—नागरिक सम्बन्धलाई समेत मजबुत बनाउन, विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी प्रतिभालाई पहिचान गरी प्रोत्साहन गर्न तथा नेपाली सेनालाई सैनिक सामग्रीहिरुको आपूर्तिमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।