प्रधानसेनापति अन्तर विद्यालय रनिङ्ग क्रिकेट खेल सम्पन्न

१. मिति २०७० माघ २८ गतेबाट सैनिक आवासीय महाविद्यालयमा संचालन भईरहेको प्रधानसेनापति अन्तर विद्यालय रनिङ्ग क्रिकेट(CoAS Inter School Running T-20 Cricket Tournament) खेल आज मिति २०७० फाल्गुन २६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा समापन भएको छ ।

२. कार्यक्रममा प्रमुख अतिथि प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले प्रथम हुने श्री सैनिक आवासीय महाविद्यालयलाई मेडल, शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार रु.२० हजार वितरण गर्नु भयो भने द्धितिय हुने ग्यालेक्सी पब्लिक स्कुल, ज्ञानेश्वरलाई बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाले मेडल प्रमाणपत्र तथा नगद पुरस्कार रु.१० हजार वितरण गर्नु भएको थियो । साथै सहभागी अन्य टिम तथा रेफ्रीहरुलाई प्रबन्धरथी उपरथी श्री राजेन्द्र क्षेत्रीले प्रमाणपत्र तथा Token of Love    प्रदान गर्नु भएको थियो ।

३. उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुमा म्यान अफ दि म्याच सैनिक आवासीय महाविद्यालयका सौगात बोहरा, बेष्ट ब्याट्स म्यानमा सैनिक आवासीय महाविद्यालयका दिनेश धानुक, बेष्ट बलरमा नाईटिङ्गेल स्कुल, कुपण्डोलका विराज तण्डुकार, म्यान अफ दि सेरिजमा ग्यालेक्सी पब्लिक स्कुल, ज्ञानेश्वरका अदिल खान र बेष्ट विकेट किपरमा आदर्श विद्या मन्दिरका दिनेश यादव छनौट हुनु भएको थियो । 

४. समापन कार्यक्रममा रथीबृन्द, अधिकृत, विभिन्न स्कुल तथा कलेजका प्रिन्सिपल, विद्यार्थीहरु, अभिभावक लगायत खेलसंग सम्बन्धित महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

५. विगत केही वर्षदेखी संचालन हुंदै आएको उक्त खेलकुद प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय सहित १६ वटा टीमको सहभागीता रहेको थियो । साथै यस किसिमको प्रतियोगिताले खेलाडीहरुलाई विद्यार्थी जीवनबाटै Cricket  खेल प्रति संलग्न रहन मद्दत पुग्नुका साथै यस खेलको विकासमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।