भारतीय स्थल सेनाध्यक्ष संयुक्त सैनिक अभ्यास अवलोकनका शिलशिलामा नेपाल भ्रमणमा

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग भारतीय स्थल सेनाका सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC  ले आज मिति २०७० फाल्गुन २९ गते जंगी अड्डामा भेटघाट गर्नुभएको छ । उक्त भेटघाटका क्रममा नेपाल तथा भारत वीच ऐतिहासिक रुपमा रहँदै आएको द्विपक्षिय सम्बन्ध र नेपाली सेना र भारतीय सेना वीच रहँदै आएको पारम्परिक सम्बन्ध र सहयोगका क्षेत्रलाई निरन्तरता दिने र विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

२. नेपाली सेना र भारतीय सेना वीच रुपन्देहीको सालझण्डीमा संयुक्त रुपमा संचालन भईरहेको सैनिक अभ्यास EX-SURYA KIRAN-VI को अवलोकनको शिलशिलामा दुई दिने भ्रमणको लागि आज मिति २०७० फाल्गनु २९ गते काठमाण्डौं आईपुग्नु भएका भारतीय सेनाध्यक्षलाई आजै वहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले जंगी अड्डा परिसरमा सम्मान गारत प्रदान गरेको थियो । यस अघि काठमाण्डौं आईपुग्दा वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले स्वागत गर्नुभएको थियो ।  

३. संयुक्त अभ्यासको अवलोकनको शिलशिलामा नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाध्यक्षले आजै सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीसंग वहाँहरुको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभएको छ । साथै, वहाँ भोली रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेना वीच संयुक्त रुपमा संचालन भईरहेको EX-SURYA KIRAN-VI को अवलोकनका लागि त्यसतर्फ जाने र भोलि नै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 

४. छिमेकी मित्रराष्ट्रका सेनाध्यक्षको यस किसिमको भ्रमणले आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउने र नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्ध अझ बढी मजबुत र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।