सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीलाई नेपाली सेना सम्बन्धी जानकारी

१. सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री सुशील कोईरालालाई आज मिति २०७० चैत्र १० गते जंगी अड्डामा नेपाली सेना सम्बन्धी जानकारी प्रदान गर्ने कार्य सम्पन्न भएको छ ।  

२. कार्यक्रमको प्रारम्भमा प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.ले स्वागत मन्तव्य दिनु भएको थियो । उक्त मन्तव्यका क्रममा प्रधानसेनापति श्री राणाले अन्तरिम संविधान तथा सैनिक ऐन २०६३ मा उल्लेखित भूमिकामा आधारित रही नेपाली सेनाले बदलिंदो सुरक्षा वातावरणको गहन विश्लेषण गर्दै ६ वटा प्रमुख लक्ष्य किटान गरी स्पष्ट Vision  सहितको १० वर्षे दीर्घकालिन योजना तर्जुमा गरिएको जानकारी गराउनु भयो । उक्त लक्ष्य प्राप्तिमा नेपाली सेनाको पुनरढांचा (Redesign)  एक महत्वपूर्ण योजनाको रुपमा रहेको जानकारी गराउनु हुंदै राष्ट्रिय सुरक्षा नीति लगायत सुरक्षा सम्बन्धि रणनीति निर्माण गर्ने कार्यलाई मुलुकको संविधानले दिशानिर्देश गर्ने र राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस तथा रक्षा मन्त्रालयको संलग्नतामा यस्ता नीतिहरु तर्जुमा गर्ने विश्वव्यापी मान्यता रहेको कुरा बताउनु भएको थियो । त्यसैगरी, राष्ट्रिय सुरक्षा परिषद्लाई क्रियाशील बनाउन सके सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियाको लागि आवश्यक सुझाव तथा सिफारिसहरु निरन्तर रुपमा उपलब्ध हुन सक्ने र सुरक्षा मामिलाका सरकारी सेवामा नै रहेका विज्ञ (Expert) एवं अभ्यासकर्मी (Practitioner) हरुको उपयोग गर्दा व्यवहारीक तथा मितव्ययी हुने र विज्ञता एवं अनुभवलाई समेत राष्ट्रले सदुपयोग गर्न सक्ने विचार व्यक्त गर्नुभयो । सार्थक एवं रचनात्मक भूमिकाको लागि राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानसेनापतिको प्रत्यक्ष सहभागिता रहने संवैधानिक व्यवस्था हुन आवश्यक रहेको विचार समेत व्यक्त गर्नुभयो । 

३. यसैगरी, स्वागत मन्तव्य दिने क्रममा प्रधानसेनापति श्री राणाले हालै सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त जिम्मेवारी व्यवसायीक ढंगले सम्पन्न गरेको उल्लेख गर्दै नेपाली सेना एउटा लोकतान्त्रीक राष्ट्रिय शक्ति (Democratic National Power) र लोकतन्त्रको रक्षक -Bulwark _ भएको भन्ने समेत प्रमाणित भएको बिचार व्यक्त गर्नु भयो । सोही क्रममा प्रधानसेनापति श्री राणाले राज्यले शक्तिको प्रयोग गर्नु पर्ने भएमा के, कति, कहिले, कहां गर्ने विषय र शक्तिको उपयोगिताको विचार गरी विद्यमान ३६० डिग्रीमा व्याप्त सुरक्षा चुनौतिहरुको सामना गर्न सक्ने क्षमतावान  (Capable), गतिशिल (Agile), अनुकुल  (Adaptable) र बलियो (Robust) सैनिक संगठनको क्रमिक रुपमा विकास गर्दै लैजानु पर्ने कुरामा जोड दिनुभयो । नेपालमा द्वन्द्वको अन्त्य संगै नेपाली सेनामा हतियार तथा गोलीगठ्ठाको आपूर्तिले निरन्तरता पाउनु पर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी, विश्व शान्तिमा योगदान पु¥याउने नेपाल सरकारको नीति अनुसार शान्ति स्थापना कार्यमा ५ हजारको संख्यामा शान्ति सेना उपलब्ध गराउने प्रतिवद्धता रहेको र पूर्ण क्षमतामा शान्ति सैनिक खटाउन आवश्यक पर्ने यातायातका साधन, हतियार तथा गोलीगठ्ठा, संचार उपकरणहरु र बन्दोवस्ती उपकरण जस्ता सामग्रीहरु उपलव्ध भएमा प्राप्त जिम्मेवारी असरदार ढंगले सम्पादन गर्न सक्ने साथै नेपालको विदेश नीतिको एक महत्वपूर्ण कटिबद्धतालाई समेत सहयोग पुग्न जाने विचार व्यक्त गर्नुभयो । 

४. प्रधानसेनापति श्री राणाले बिद्यमान बहुआयामीक चुनौतिको परिस्थितीमा कुन बेला कस्तो प्रकारको सुरक्षा खतराको सामना गर्न सेना परिचालन हुन्छ भन्ने पूर्व अनुमान गर्न सकिदैन । त्यसै गरी रातारात सैनिक क्षमताको पनि बिकास गर्न सकिदैन । तसर्थ नेपाल सरकारले नेपाली सेनाको क्षमता अभिबृद्धिका लागी गरिने खर्चलाई Sectoral Spending  को रुपमा वजेट उपलव्ध गराउने नीति भएमा सेनाको दिर्घकालीन योजना कार्यान्वयन गर्न मद्दत पुग्ने बिचार व्यक्त गर्नु भयो ।

५. साथै सोहि अवसरमा नेपाली सेनाका वहालवाला तथा अवकाश प्राप्त सकलदर्जाको हितमा राज्यका तर्फबाट संचालन गरिनुपर्ने आधारभूत सेवाहरु मुलतः शिक्षा तथा स्वास्थ्यमा नेपाल सरकारको दायित्व रहने भएता पनि सैनिक कल्याणकारी कोषबाट आर्जित व्याजबाट संचालन हुँदै आईरहेको छ । उक्त कल्याणकारी कार्यहरुमा नेपाल सरकारको दायित्वबोध हुन कल्याणकारी कोषले प्राप्त गर्ने व्याजमा लाग्ने कर छुट गर्ने व्यवस्था भएमा कल्याणकारी कार्यलाई अगाडी बढाउन र नेपाल सरकारको स्वामित्व समेत रहन जाने विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री पदम विलास कार्कीले राष्ट्रिय सुरक्षा रणनीति, वर्तमान तथा भावी सुरक्षा चुनौति, नेपाली सेनाको आगामी कार्यदिशा, १० वर्षे दीर्घकालिन योजना र नेपाली सेनाले लिएको लक्ष्यहरुमा भएको कार्यहरु तथा चुनौतिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

६. जानकारी प्रदान गर्ने कार्यक्रम पश्चात सम्माननीय प्रधानमन्त्रीज्यूले देश र जनताको सेवामा समर्पित नेपाली सेनाको मुख्यालयमा आई जानकारी हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्र्दै प्रधान सेनापति लगायत सम्बन्धित सबैलाई धन्यवाद दिनु भयो ।  सोही क्रममा वहांले नेपाली सेनाले आफ्नो प्राथमिक जिम्मेवारीको अलावा आन्तरिक सुरक्षा, प्रकृति संरक्षण, प्रकोप उद्धार, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापना कार्य एवं राष्ट्रको विकास निर्माणमा पु¥याएको योगदान प्रशंसनिय रहेको विचार व्यक्त गर्नुभयो । त्यसैगरी, जनआन्दोलनको समयमा नेपाली सेनाले प्रदर्शन गरेको परिपक्व व्यवहारले नेपाली सेना राष्ट्र र जनताको सर्वाेत्तम हितभन्दा बाहिर जांदैन भन्ने कुरालाई प्रमाणित गरेको विचार समेत व्यक्त गर्नुभयो । सोही क्रममा राष्ट्रिय सुरक्षामा आउने नयां नयां चुनौतिहरुको अध्ययन अनुसन्धान गरी त्यसको सामना गर्न नेपाली सेनाले आफुलाई सक्षम बनाउंदै जानुपर्ने र राष्ट्रिय सुरक्षाका विषयमा राजनीतिक दलहरुसंग साझा विचारहरु कायम गरी राष्ट्रिय सुरक्षा नीति तर्जुमा गर्नुपर्छ भन्ने जनभावनालाई सवैले आत्मसात गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । सोही अवसरमा देश र जनताको सुरक्षामा समर्पित नेपाली सेनालाई समयानुकुल आधुनिकीकरण गरी सक्षम र व्यवहारिक सेनाको रुपमा स्थापित गर्न र बदलिंदो सुरक्षा चूनौतीहरुलाई सामना गर्न नेपाली सेनाले प्रस्ताव गरेका लक्ष्यहरुलाई पुरा गर्न नेपाल सरकारको तर्फबाट सक्दो साधन श्रोत उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उक्त अवसरमा उपस्थित उपप्रधानमन्त्रीद्धय लगायत अन्य मन्त्रिहरुबाट नेपाली सेनासंग सम्वन्धित विषयहरुमा छलफल भएको र सेनाले पेश गरेको योजना समग्रमा व्यवहारिक रहेको विचार व्यक्त गर्दै नेपाली सेनाको आधुनिकीकरणका लक्ष्यहरु पुरा गर्न सकारात्मक सहयोग रहने विचार व्यक्त गर्नु भएको थियो । 

७. कार्यक्रमको अन्त्यमा प्रधानसेनापति श्री राणाले नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न छलफलका दौरान प्रधानमन्त्री तथा मन्त्रीहरुबाट प्राप्त राय तथा सुझावहरुलाई मार्गदर्शनको रुपमा लिई योजनालाई अझ परिस्कृत गरिने र योजना अनुरुप आवश्यक श्रोत साधनहरु नेपाली सेनालाई उपलब्ध हुने विश्वास व्यक्त गर्दै आफ्नो अमुल्य समय दिई जंगी अड्डामा पाल्नु भएकोमा सम्माननीय प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु तथा सवै मन्त्रीहरु र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । 
८. उक्त कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री वामदेव गौतम, उपप्रधानमन्त्री तथा संसदीय मामिला र स्थानिय विकास मन्त्रि श्री प्रकाश मान सिंह, अर्थमन्त्री डा. श्री रामशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री विमलेन्द्र निधी, वन तथा भूसंरक्षण मन्त्री श्री महेश आचार्य, सूचना तथा संचार मन्त्री डा. श्री मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री श्री महेन्द्र बहादुर पाण्डे, मुख्य सचिव श्री लिलामणी पौडेल र निमित्त रक्षा सचिव श्री देवन्द्र सिटौंला तथा नेपाली सेनाका रथीवृन्दहरुको समेत उपस्थिती रहेको थियो ।