बलाध्यक्षज्यूबाट शान्ति स्थापनार्थ खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०७० चैत्र ११ गते बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाबाट संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNMISS Mission, दक्षिण सुडानमाा तैनाथ हुन जाने क्रममा रहेको श्री रणसिंहदल गण (शा.से.) चौथो डफ्फा र अर्जुनवाण गण (शा.से.) पहिलो डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre-Deployment तालिमको निरीक्षण तथा समापन गर्नु भएको छ ।

२. उक्त अवसरमा बलाध्यक्ष रथी श्री राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा हाल बिश्वका विभिन्न द्वन्दरत राष्ट्रहरुमा संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न गरेको अतुलनीय प्रयासहरुमा नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहि आएको तथा नेपाली सेना आफ्नो देशमा मात्रै नभई विदेशमा समेत द्धन्द्धरत स्थलहरुमा शान्ति सु–व्यवस्था कायम गर्न उच्च हौसलाका साथ संलग्न रहेको बताउनु भएको थियो । यसै क्रममा शान्ति स्थापनाको गौरवमय ईतिहास बोकेको गरिमामय नेपाली सेनाको ५५ बर्ष भन्दा लामो ईतिहासमा नेपाली शान्ति सैनिकहरुको अथक प्रयास सह्राहनीय भएको कुरा उल्लेख गर्नुहुँदै आफ्फनो कार्यक्षेत्रमा आफुलाई एक योग्य शान्ति सैनिकको रुपमा परिचय गराई आफ्नो पेशागत दक्षता, मानव अधिकारको उच्च सम्मान, प्रजातन्त्र र प्रजातान्त्रिक आचरण तथा मानवीय सहयोगको भावना राखी विश्व शान्तिप्रति नेपालको प्रतिबद्धताको सन्देश संसारभर फैलाउने कार्यमा सफल हुने विश्वास राख्दै पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।  

३. साथै उक्त कार्यक्रममा बलाध्यक्ष रथी श्री राणाले विश्व शान्ति स्थापनार्थ नेपाली सेनाले हालसम्म १ लाख भन्दा बढी शान्ति सैनिकहरु, ४० वटा मिशनहरूमा पठाई सकेको र हाल १३ वटा मिशनहरुमा करिव ३८५६ शान्ति सैनिकहरू कार्यरत रहेको उल्लेख गर्नु हुंदै हाल विश्वको बद्लिदो परिस्थितीमा शान्ति स्थापना गर्ने कार्य ज्यादै कठिन र चुनौतिपूर्ण भएको र शान्ति स्थापना कार्य अन्य अप्रेशनहरु भन्दा भिन्न हुने भएकोले काम गर्दा निष्पक्ष भई संवेदनशिल विषयहरुमा विवेकशिल ढंगबाट कार्य गरी शान्ति स्थापना कार्य सफल पार्न सकल दर्जाहरुले आपसी समन्वय, सहयोग र मित्रतालाई कायम राखी आफ्नो उद्देश्यमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । 
 
४. उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बलाध्यक्ष रथी श्री राणाले विश्वका १३० भन्दा बढी राष्ट्रहरुले शान्ति स्थापना कार्यमा आप्mनो सहभागिता जनाउन होडबाजी गरिरहेको अवस्थामा हाम्रो प्रतिष्ठा बढाउन, नेपाली सेनालाई शान्ति स्थापना कार्यमा टिकाई राख्न तथा हाम्रा भावी पिढीलाई यस कार्यमा मौका दिन हामी सबैले कुराले होईन, कामले गरेर देखाउनुपर्ने र यसको लागि पेशागत रुपमा दक्ष निश्वार्थ भावनाले प्रेरित, अनुशासित र कर्मठ रही काम गर्न आवश्यक रहेको साथै संयुक्त राष्ट्रसंघको नीति र नियमहरु जस्तै Sexual Exploitation & Abuse (SEA), मानव अधिकार आदी विषयहरु अक्षरस पालना गर्नुहुनेछ भन्दै हाल विश्वमा बढ्दै गई रहेको विभिन्न किसिमको डर लाग्दो संक्रामक रोगहरु प्रति सचेत रहन जानकारी गराउनु हुँदै Pre-Deployment तालिम संचालन गराउन सरिक हुनु भएका सम्पुर्ण अधिकृत, पदिक, विल्लादार तथा अन्य दर्जाहरुलाई धन्यबाद दिनु भएको थियो ।

५. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सह–सचिव तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।