प्रधानसेनापतिद्धारा पूर्वी पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. पूर्वी पृतना अन्तरगतका युनिटहरुको दुई दिने भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले समायोजन पछि खडा भएको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय अन्तरगतका रानिवास, सिन्धुलीस्थित नं. १ वन तथा पर्यावरण गण र बेलसोत, उदयपुरस्थित नं.१ राष्ट्र विकास गणको मिति २०७० चैत्र २६ गते निरिक्षण भ्रमण गर्नुभएको थियो । उक्त निरीक्षणको क्रममा प्रधानसेनापति महारथी श्री राणाले उक्त गणका कमाण्डरहरुसंग अन्तरक्रिया गर्नुभई गणहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी लिनु भएको थियो । 

२. निरिक्षण भ्रमणकै क्रममा पूर्वी पृतना हे.क्वा. अन्तर्गत भवानी दल गणद्धारा उदयपुरको खैजनपुरमा संचालित सामुहिक तालिमकोे बस्तुस्थितीको बारेमा जानकारी हासिल गर्नु भई तालिममा सहभागी फौजद्धारा प्रस्तुत सैनिक युद्धकलाहरुको प्रदर्शनी समेत अवलोकन गर्नु भएको थियो ।

३. त्यसैगरी प्रधानसेनापति महारथी श्री राणाले आज मिति २०७० चैत्र २७ गते कोशिटप्पुस्थित श्री ईन्द्रदल गुल्मको निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति महारथी श्री राणाले सकल दर्जालाई सम्बोधन गर्नुहुँदै आफुलाई सुम्पिएको कोशिटप्पु वन्यजन्तु आरक्षको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्दै राष्ट्र तथा जनताको सेवामा दत्तचित्त भई लाग्न निर्देशन दिनु भयो ।
 
४. प्रधानसेनापति महारथी श्री राणा ईन्द्रदल गुल्मको निरीक्षण भ्रमणको लागि आज ईटहरी देखि ७५ कि.मि. साइकलमा यात्रा गरी कोशिटप्पु व्यारेक, कुशाहासम्म पुग्नु भएको थियो । साथै वहाँले आरक्ष सुरक्षार्थ तैनाथ उक्त गुल्मका विकट पोष्टहरुको समेत साईकल यात्राबाट नै निरिक्षण गर्नुभएको थियो । यस cycling कार्यक्रमले कोशिटप्पु वन्यजन्तु आरक्ष भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई साइकलबाट यात्रा गरी प्राकृतिक सौन्दर्यको मनोरञ्जन गर्न एवं पर्यावरणीय स्वच्छताको लागि साइकल यात्राको भूमिकालाई उजागर गर्ने हेतुले यो cycling कार्यक्रम सम्पन्न गरिएको हो । पूर्वाञ्चलमा गरिएको यस किसिमको कार्यक्रमले त्यस क्षेत्रका युवा वर्गहरुलाई cycling तर्फ आकर्षित गर्दै पर्यावरणलाई स्वच्छ राख्न मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

५. उक्त निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी श्री राणा आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।