सम्माननीय प्रधानमन्त्रीद्धारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१. आज मिति २०७० चैत्र २१ गते भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक समारोहकावीच सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोईरालाले सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नु भयो । सो समारोहमा सम्माननीय प्रधानमन्त्रीको आगमन हुँदा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले हार्दिक स्वागत तथा अभिवादन गर्नुभएको थियो । 

२. उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोईरालाले सि.सं.५२ अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट दिपेन्द्र विक्रम के.सी. तथा सि.सं.४२ पदिक/हुद्धा अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने पदिक/हुद्धा अधिकृत क्याडेट गणेश कार्कीलाई Sword of Honour, महिला अधिकृत क्याडेटमा सर्वाेत्कृष्ट हुने अधिकृत क्याडेट रश्मीला अर्याललाई Trophy, स्नातक तहको शैक्षिक अध्ययनतर्फ प्रथम हुने अधिकृत क्याडेट रविन श्रेष्ठलाई पुरस्कार प्रदान गर्नु भएको थियो । 

३. नेपाली सैनिक प्रतिष्ठानमा प्रथम पटक विदेशी अधिकृत क्याडेटहरु समावेश गरी संचालित उक्त तालिममा नाईजेरिया, मालदीभ्स र केन्याबाट १/१ जना अधिकृत क्याडेट तालिममा सहभागी भएका थिए । पश्चिम अफ्रिकाको सामरिक र आर्थिक शक्ति राष्ट्रको रुपमा रहेको नाईजेरिया, पूर्वी अफ्रिकाको सामरिक र आर्थिक शक्ति राष्ट्रको रुपमा रहेको केन्या र दक्षिण एसियामा अवस्थित मित्रराष्ट्र माल्दीभ्स जस्ता राष्ट्रहरुको सेनाबाट सहभागी अधिकृत क्याडेट मध्ये उत्कृष्ट अधिकृत क्याडेट हुन सफल भएका नाईजेरियाका अधिकृत क्याडेट E M Wenebai  लार्ई पुरस्कार स्वरुप खुकुरी प्रदान गर्नु भएको थियो । २४ महिना अवधिको उक्त तालिममा २० जना महिला, २२० जना अधिकृत क्याडेट, ३३ जना पदिक/हुद्धा अधिकृत क्याडेट तथा ३ जना विदेशी अधिकृत क्याडेट सहित २७६ जना अधिकृत क्याडेटहरु आज बाट सहायक सेनानीको दर्जामा नियुक्त भएका छन् । नेपाली सेनाका अन्य तालिम शिक्षालयहरु (माउण्टेन वारफेयर, जंगल वारफेयर, प्यारा बेशिक तथा स्टाफ कलेज) बाट हालसम्म करिव ३०० जना भन्दा बढी विदेशी मित्रराष्ट्रका सैनिक अधिकृत, पदिक तथा अन्यदर्जाहरुले तालिम प्राप्त गरिसकेका छन् । 

४. उक्त अवसरमा नवआयुक्त अधिकृतहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री श्री कोईरालाले गौरवमय ईतिहास बोकेको नेपाली सेनामा भर्ना भई आफ्नो अथक प्रयास, समर्पण, लगनशीलता र मेहनतले २४ महिनाको निर्धारित अधिकृत क्याडेट तालिम सम्पन्न गरी योग्य अधिकृत बन्न सफल नवआयुक्त अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै नेपालको स्वतन्त्रता, राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ताको रक्षा गर्ने गहन जिम्मेवारी बोकेको नेपाली सेनामा कार्यारम्भ र सफलताको कामना गर्नु भएको थियो ।

५. प्रधानमन्त्री श्री कोईरालाले नेपाली सेनाले संविधान र कानुनले निर्धारण गरेको परिधिभित्र रही नागरिक सरकारको मातहतमा रहेर प्राप्त सबै जिम्मेवारीहरु पुरा गर्दै लामो ईतिहास बोकि सकेको विचार व्यक्त गर्नुभयो । नेपाली सेनाले आप्mना जिम्मेवारीहरु व्यवसायीक ढंगले निपूर्णतापूर्वक सम्पन्न गर्ने जिम्मेवार संगठनको रुपमा आफुलाई स्थापित गरिसकेको कुरा समेत बताउनु भयो । नागरिकको मौलिक हक र अन्तर्राष्ट्रिय मानवीय कानुनको रक्षा गर्दै प्राप्त जिम्मेवारीहरु कुशलतापूर्वक सम्पादन गर्दै आएको कुरा स्मरण गर्नु हुंदै सैनिक पेशासंगमात्र आफुलाई आवद्ध नराखी राष्ट्रिय विपद् व्यवस्थापन, राष्ट्र विकास र निर्माण, स्वास्थ्योपचार र शिक्षा जस्ता सामाजिक सेवामा पनि समर्पित हुँदै आएको कुरा बताउनु भएको थियो । संयुक्त राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनामा पु¥याएको योगदान र वलिदानले देशको छवी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उज्वल बनाउन पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो । 

६. प्रधानमन्त्री श्री कोईरालाले नेपाली सेनाको व्यवसायीक उत्कृष्टता मित्रराष्ट्रहरुका सेनाका माँझमा समेत चर्चाको विषय बन्न पुगेको बताउनु हुंदै नेपाली सेनाका शिक्षण संस्था र तालिम केन्द्रमा अध्यापन गरी अभ्यास गरिने अल्पकालिन र दिर्घकालिन प्रशिक्षण, तालिम र अध्ययन शत्रहरुमा हुने विदेशी सहभागीताले समेत नेपाली सेनाको सामथ्र्य विश्व सामु उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भएको थियो । 

७. यसैगरी, प्रधानमन्त्री श्री कोईरालाले नेपाली सेनाको व्यवसायीक क्षमता अभिबृद्धिका लागि आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुहुँदै नेपाली सेना हरेक क्षेत्र, वर्ग, जाती, धर्मलाई समाहित गर्दै विवादरहीत ढंगले अघि बढिरहेको साथै राष्ट्रिय आवश्यकता अनुरुप समय सापेक्ष परिमार्जन गरिएका नीति नियमहरुको मातहत रही नेपाली सेनाले गरेको कामले राष्ट्रिय सुरक्षाको मामलामा जनताको आशा र भरोसाको पर्यायको रुपमा विकसित भैईरहेको बताउनु भएको थियो । 

८. सम्बोधनको अन्तमा प्रधानमन्त्री श्री कोईरालाले नेपाली मात्रको साझा सम्पति र शक्तिका रुपमा रहेको नेपाली सेनाको अधिकृतको रुपमा “शिरमा ज्ञान र समझदारी, काधमा सेवा र जिम्मेवारी तथा हृदयमा अदम्य साहस र नेतृत्व” मनन गरी राष्ट्रिय सेवा र नागरिक सेवामा आफ्नो जिवन समर्पित गर्ने विश्वास व्यक्त गर्नुहुँदै नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “ज्ञान सेवा नेतृत्व” अनुरुप प्रशिक्षण दिई कुशल र अनुशासित अधिकृतहरु उत्पादन गर्न योगदान दिने शिक्षाधिकृत, पदिक, विल्लादार तथा शैक्षिक अध्यापन तर्फ योगदान दिनु हुने डिन र प्राध्यापकहरु लगायत आमन्त्रित स्वदेशी तथा विदेशी पाहुनाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

९. सो अवसरमा माननीय उपप्रधान तथा गृहमन्त्री श्री वामदेव गौतम, निमित्त रक्षा सचिव, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीबृन्द, मित्रराष्ट्र नाईजेरियाका Air Vice Marshal ABC Nweze, Deputy Commandant, Nigerian Defence Academy (NDA), नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकृतहरु र अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा नेपाली सेनाका अधिकृत, पदिक एवं अन्य दर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजन र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

१०. उक्त कार्यक्रमको समापन पश्चात मित्रराष्ट्र नाईजेरियाका Air Vice Marshal ABC Nweze, Deputy Commandant, Nigerian Defence Academy (NDA) ले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग शिष्टाचार भेटघाट गर्नुभएको थियो । उक्त भेटघाटका क्रममा दुई सेना वीचको आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको 
थियो ।