प्रधानसेनापतिद्वारा प्रकृति संरक्षणमा उत्कृष्ट कार्य गर्ने नेपाली सेनाका गण÷गुल्महरुलाई सम्मान

१. प्रकृति संरक्षणमा उत्कृष्ट कार्य गर्ने नेपाली सेनाका नन्दाबक्स गण, नरसिंहदल गण, गरुडदल गण, रणदल गुल्म र अजयदल गुल्मलाई  आज मिति २०७१ वैशाख १० गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका वीच प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले कदर पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । 

२. सो अवसरमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी श्री आमोद नरसिंह राणाले स्वागत मन्तव्य दिनु भएको थियो । 

३. सन् १९७५ मा चितवन क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरी सो को सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएबाट क्रमिक रुपमा हाल १० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा बन्यजन्तु आरक्ष र ६ वटा संरक्षण क्षेत्र घोषणा भैसकेको छ । जसमध्ये नेपाली सेनाले ७ वटा गण र ७ वटा गुल्म तैनाथ गरी ९ वटा राष्ट्रिय निकुञ्ज र ३ वटा बन्यजन्तु आरक्षमा ७ हजार ६ सय २७ संख्यामा (१३८ वटा आउट पोष्ट) फौज तैनाथ गरी बन पैदावर एवं दुर्लभ बन्यजन्तुहरुको सुरक्षा गर्दै आईरहेको छ ।

४. नेपाली सेनाले प्राप्त जिम्मेवारीलाई अति नै संवेदनशिल भई प्रतिकुल मौसम र कठिन भौगोलिक वातावरणमा अहोरात्र खट्टिई प्रकृति संरक्षण एवं खतराको सूचीमा रहेका जीवजन्तुहरुको सुरक्षा गर्दै आईरहेको छ । नेपाली सेनाको उक्त कार्यको उच्च मूल्यांकन गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाहरुले हरेक बर्ष नेपाली सेनालाई प्रकृति संरक्षण सम्बन्धी विभिन्न पुरस्कारहरुबाट समेत सम्मान गर्दै आईरहेको छ । 

५. उक्त कार्यक्रममा नेपाली सेनाको रथीबृन्द, निमित्त रक्षा सचिव, वन तथा 
भू–संरक्षण मन्त्रालय अन्तर्गत वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज महानिर्देशनालका महानिर्देशक, नेपाली सेनाका सेनानी समुह, प्रकृति संरक्षणसंग सम्बन्धित महानुभावहरु, संचारकर्मीहरु लगायत पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिती रहेको थियो ।