हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको शुभारम्भ

१. आज मिति २०७१ बैशाख १२ गते नगरकोटस्थित सैनिक शिक्षालयमा सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री श्री सुशिल कोईरालाज्युूले सि.सं.१ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको एक समारोहका बीच शुभारम्भ गर्नु भएको छ । नेपाली सेनामा पहिलोपटक संचालन हुन लागेको यस तालिममा २२ जना महासेनानीहरु र २ जना प्रमुख सेनानीहरु गरी जम्मा २४ जना शिक्षार्थीहरु सहभागी हुनु हुन्छ । 

२. तालिमको शुभारम्भ गर्दै प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री श्री सुशिल कोईरालाले आफ्नो योग्यता, क्षमता र अनुभवका आधारबाट खारिएका अधिकृतहरुले पाउने ज्ञान, सीप र अभ्यासले नेपाली सेनालाई अझ बलियो आधार प्रदान गर्ने तथा यसबाट नेपाल सरकारको नीति अन्तरगत रही नेपाली सेनालाई आन्तरिक एवं बाह्य सुरक्षा चुनौतिको सामना गर्न सक्ने दक्ष, गतिशील, व्यवसायिक र आधुनिक सैनिक संगठनको रुपमा विकास गर्दै लैजान ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । देश र जनताको सुरक्षा र सेवामा समर्पित नेपाली सेना मुलुकको संविधानप्रति वफादार रही नेपाल सरकारको नीति निर्देशन अनुरुप सुम्पिएको जिम्मेवारीहरु पुरा गर्न सक्षम अराजनीतिक चरित्रयुक्त व्यवसायिक र विश्वासिलो सुरक्षा अंगको रुपमा स्थापित भएको र देशमा भएका लोकतान्त्रिक परिवर्तनलाई नेपाली सेनाले आत्मसात गरिसकेको कुरा उल्लेख गर्नुहुंदै आफुलाई नागरिकको मौलिक हक र मानव अधिकारप्रति प्रतिवद्ध सेनाको रुपमा विकसित गरिरहेको जुन, सम्पुर्ण लोकतन्त्रप्रेमीका लागि सन्तोषको विषय रहेको बताउनु भएको थियो । 

३. यसैगरी, प्रधानमन्त्री श्री कोईरालाले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट कार्य सम्पादन गर्न सक्षम उच्च तहका अधिकृत उत्पादन गरी आफ्नो संगठनको व्यवसायिक कार्यकुशलतालाई अभिबृद्धि गर्ने अभिप्रायले थालिएको यस तालिमले नेपाली सेनालाई प्रभावकारी ढंगबाट प्रस्तुत हुंदै कर्तव्यपथमा अगाडी बढ्न तथा आन्तरिक र बाह्य सुरक्षा चुनौतिलाई पहिचान गरी तिनलाई न्यायोचित र व्यवहारिक रुपमा विश्लेषण गरी बुद्धिमतापूर्वक सही निर्णय लिन सक्ने योग्य र सक्षम उच्च तहका अधिकृत उत्पादनमा ठुलो टेवा पुग्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै नेपाली सेनालाई समयानुकुल आधुनिकीरण गरी सक्षम, दक्ष र कार्यकुशल व्यवसायिक सुरक्षा अङ्ग बनाउन सेनाबाट प्रस्तुत पुनर्संरचना योजनालाई आवश्यकता अनुरुप कार्यान्वयन गर्न सरकार सकारात्मक रहेको र नेपाली सेनालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चुनौतिहरुलाई सामना गरी देश र जनताको सुरक्षाको निमित्त सक्षम व्यवसायिक सेना बनाउन दरिलो नीति बनाई त्यसको कार्यान्वयनका लागि आवश्यक श्रोत साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको कुरा समेत बताउनु भएको थियो । 

४. यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै प्रधानसनोपति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले कुनै पनि सेनाको प्रभावकारिता त्यसको युद्धशक्ति (Fighting Power)  बाट नै प्रतिविम्बित हुने बताउनु हुंदै पूर्ण व्यवसायिक सेना नै आफ्नो वैधानिक दायरा एवम् निर्वाचित सरकारको बस्तुगत नियन्त्रण (Objective Control)  भित्र रही एक दरिलो राष्ट्रिय शक्ति (Potent Instrument of National Power) को रुपमा कार्यरत रहने कुरा उल्लेख गर्नु भएको थियो । नेपाली सेनालाई देश र जनताप्रति प्रतिवद्ध, अराजनीतिक संस्थाको रुपमा उभ्याउंदै यसको व्यवसायिक सक्षमताहरुको विकास गर्नुपर्ने बताउनु हुंदै राष्ट्रिय स्वाभिमान र अखण्डता कायम राख्दै कुसल योद्धाको रुपमा विश्वमा ख्याती कमाउन हाम्रा वीर पूर्वजहरुले पु¥याएको योगदानलाई स्मरण गर्नुहुंदै आगामी दिनमा ती कदमहरुलाई निरन्तरता दिन जरुरी रहेको उल्लेख गर्नुभयो । साथै उक्त तालिमको प्रथम प्रवचनमा पाल्नु भएका सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री लगायत उपस्थित सम्पुर्ण महानुभावहरुप्रति आभार व्यक्त गर्नुहुंदै उक्त तालिम संचालनमा योगदान पु¥याउने सैनिक विनय महानिर्देशक र उक्त शिक्षालयको भौतिक पूर्वाधार निर्माणमा योगदान पु¥याउनु हुने विकास निर्माण तथा स्थपति महानिर्देशकलाई विशेष धन्यबाद दिनु भएको थियो । 

५. उक्त समारोहमा सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.ब.रा.ले स्वागत मन्तव्य दिनुहुंदै संस्थागत तालिम र शिक्षा, युनिटमा नियुक्ती र अपरेशन तथा व्यक्तिगत विकासमध्ये संस्थागत तालिम र शिक्षाको प्रमुख भूमिका रहने कुरा उल्लेख गर्नुभयो । साथै शान्ति तथा युद्धको समयमा अपरेशनल तहको रणकौशलता, योजना, कार्यन्वयन र नियन्त्रण गर्न दक्ष बनाउन सुहाउंदो तालिम आवश्यक रहेको महसुस गरी यो तालिम सुरु गरिएको जानकारी गराउनु भएको थियो ।

६. साथै, उक्त कार्यक्रममा माननीय उप प्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानिय विकाश मन्त्री श्री प्रकाशमान सिंह, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, पूर्व प्रधानसेनापतिहरु, नेपालस्थित विदेशी महामहिम राजदुतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, बहालवाला तथा पूर्व रथीबृन्द तथा सेनानी समुह लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।