प्रधानसेनापतिद्धारा “नेपाली सेना भू.पु. सैनिक सम्मेलन (पूर्वाञ्चल)–२०७१ मा भू.पु. सैनिकहरुसंग भेटघाट तथा कार्यक्रमको समापन

१. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा मिति २०७१ जेष्ठ ६ गतेदेखि सञ्चालन भएको “नेपाली सेना भू.पु. सैनिक सम्मेलन (पूर्वाञ्चल)–२०७१” को आज मिति २०७१ जेष्ठ ८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले एक विशेष समारोहकाबीच धनकुटाको हिले व्यारेकमा समापन गर्नुभएको छ ।  

२. प्रधानसेनापति श्री राणाले समापन सम्बोधनको क्रममा नेपाल एकिकरणको अभियानदेखि नै नेपाली सेनाले राष्ट्रप्रति गर्दै आएको अटुट योगदानको कारण नेपाली समाजमा एक भरपर्दाे संगठनको रुपमा स्थापित भएको कुरा व्यक्त गर्नुभयो । साथै, चुनौतिपूर्ण क्षणहरुमा पनि आफ्नो कर्तव्यपथमा अविचलित रही निरन्तर नेपाल र नेपालीको सेवामा खट्टिदै आएको विचार व्यक्त गर्नुभयो । नेपाल र नेपालीको शान्ति, स्थिरता एवं प्रगतिको निमित्त स्वदेश एवं विदेशमा कर्तव्यपालनको सिलसिलामा प्राण उत्सर्ग गर्ने नेपाली सेनाका सम्पूर्ण बीर सपुतहरुप्रति भावपूर्ण हार्दिक श्रद्धान्जलि समेत अर्पण गर्नुभयो । यसरी देश र जनताको खातिर प्राप्त जिम्मेवारी तथा कर्तव्यलाई उच्चस्तरबाट निर्वाह गर्ने कार्यमा अहम् भूमिका खेल्ने बहालवाला तथा भूतपूर्व सैनिकहरुको निस्वार्थ सेवाको सदैव उच्च कदर हुनुपर्ने कुरामा जोड दिनुभयो । 

३. सोही अवसरमा विद्यमान सैनिक ऐनले सैनिक कल्याणकारी कोषको संचालन तथा व्यवस्थापनको गहन जिम्मेवारी प्रधानसेनापतिलाई दिएको हुंदा उक्त जिम्मेवारी गम्भिरताका साथ लिई सबैलाई समेट्न सक्ने, आर्थिक रुपमा सम्भाव्य एवं दिगो कल्याणकारी योजना संचालन गर्ने, कल्याणकारी गतिविधिलाई विकेन्द्रित गर्ने तथा भूतपूर्व सैनिकहरुको भूमिका र महत्वलाई समेत समावेश गर्नुपर्ने आवश्यकता देखिएको कुरा औल्याउनु भयो । यसै परिप्रेक्ष्यमा नेपाली सेनाको बृहत कल्याणकारी छाताभित्र रही प्रणालीबद्ध, आत्मनिर्भर र पारदर्शी रुपमा आय तथा सेवामुलक कार्यहरु संचालन गरी दिगो एवं प्रभावकारी कल्याणकारी कार्यलाई विकेन्द्रित गर्नु नेपाली सेनाको प्रमुख प्राथमिकता हुने बताउनु भयो । हाल करिव ८ लाख हिताधिकारी संख्या पुगिसकेको परिप्रेक्ष्यमा र भविष्यमा बढ्दै जाने हिताधिकारीको संख्या र तिनको आवश्यकतालाई सम्बोधन गर्ने, सबैको भावना र चाहनालाई समेट्ने, आर्थिक रुपमा आत्मनिर्भर, संभाव्य र दिगो, समयानुकुल, विकेन्द्रिकृत कल्याणकारी कार्यक्रम र योजना सुरु गर्न जरुरी भईसकेको हुंदा सैनिक कल्याणकारी बोर्ड गठन गरिएको र आगामी कल्याणकारी कार्यहरुलाई अगाडी बढाउने बारे जानकारी गराउनु भयो । 

४. आजै प्रधानसेनापति श्री राणाले मोरङ्गको थलाहामा नेपाली सेना कल्याणकारी बोर्डकोे क्षेत्रिय कार्यालय (Epicentre)भवनको शिलान्यास गर्नुभयो । उक्त सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको संयुक्त सहकार्यमा नेपालमै पहिलो पटक विपन्न वर्ग अन्तर्गत व्यक्तिगत रुपमा विभिन्न खाले लघु व्यवसाय संचालन गर्न संचालित लघुबित्त आयोजना (Micro Finance Project) मा सहभागी हुने पूर्वाञ्चलका पूर्व सैनिकहरुलाई वित्तिय प्याकेज अन्तर्गत १४ जनालाई प्रधानसेनापति श्री राणा र नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डेले चेक हस्तान्तरण गर्नुभयो । यसैगरि, सम्मेलनकै सिलसिलामा प्रधानसेनापति महारथी श्री राणाले शारीरिक रुपमा अशक्त १२ जना भूतपूर्व सैनिक तथा तीनका परिवारलाई व्हील चियर प्रदान गर्नु भएको थियो । उक्त सम्मेलनको क्रममा ईटहरी, धरान तथा हिलेमा ३ दिनसम्म संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भू.पु., बहालवाला तथा बालवालिका गरी कुल जम्मा ३११२ र गैह्र सैनिक ५५ जनालाई निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको थियो । उक्त सम्मेलनमा पूर्वाञ्चल क्षेत्रका ५ हजार १० जना भूतपूर्व सैनिक तथा सैनिक निवृत्तभरणमा रहेको परिवारजनहरुको उपस्थिती रहेको थियो ।  
५. उक्त अवसरमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले समापन मन्तव्य राख्नु हुंदै हिजोका सैनिक आजका भू.पु. र आजका सैनिक भोलीका भू.पु. भन्ने बास्तविकतालाई मनन् गर्दै रोजगारमुखी तालिमको अभाव र आर्थिक तथा व्यवसायिक गतिविधि संचालन गर्न पुंजीको कमीले गर्दा भूतपुर्व सैनिक तथा तिनका परिवारहरुको स–साना व्यवसायिक तथा आर्थिक क्रियाकलापहरुमा पहुंच पुग्न नसकेको तथा यस परिवेशमा “सैनिक कल्याणकारी कोष” को विविध गतिविधिहरुलाई समग्रमा पुनरावलोकन गरी सबैको भावना र चाहनालाई समेट्दै नेपाली सेनामा आर्थिक रुपमा संभाव्य र दिगो हुने कल्याणकारी कार्यक्रम लागु गर्ने सिलसिलामा शिक्षा र स्वास्थ्य जस्ता आधुनिक समाजका आधारभूत आवश्यकताहरुलाई नेपाली सेनाले आफ्नो कल्याणकारी कार्यक्रमको मुख्य केन्द्रविन्दु बनाउंदै उक्त कल्याणकारी कार्यलाई विकेन्द्रित र विस्तार गर्दै महाविद्यालय, विद्यालय र प्रतिष्ठानहरुको साथ साथै स्वास्थ्य क्षेत्रमा पनि स्थानियस्तरमा पोलिक्लिनिक क्षेत्रीय स्तरमा ५० शैयाको अस्पताल र केन्द्रियस्तरमा भेट्रान्स अस्पताल क्रमिक रुपमा बनाउने योजना रहेको बताउनु भएको थियो ।

६. उक्त समारोहमा सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत अवकाश प्राप्त रथी श्री चित्र बहादुर गुरुङ्गले कल्याणकारी बोर्ड र त्यसको औचित्य एवं भविष्यमा गरिने कार्यहरुका विषयमा प्रकाश पार्नु भएको थियो भने उक्त समारोहमा सगरमाथा अञ्चलमा बसोवास गर्ने पूर्व सैनिकहरुको तर्फबाट रथी (अ.प्रा.) श्री फत्ते बहादुर लिम्वु, मेची अञ्चलका पूर्व सैनिकहरुका तर्फबाट उपरथी (अ.प्रा.) श्री दिलिप कार्की र कोशी अञ्चलका तर्फबाट रथी (अ.प्रा.) कृष्ण नारायण सिंह थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमका पूर्व सैनिकहरुका तर्फबाट मार्च पाष्ट तथा आ–आप्mनो क्षेत्रलाई प्रतिनिधित्व गर्ने सांस्कृतिक झाकी प्रदर्शन गरिएको थियो भने सम्मेलनमा नेपाली सेना, नेपाली सेनाको कल्याणकारी गतिविधि तथा नेपाली सेना कल्याणकारी बोर्ड सम्बन्धमा विभिन्न प्रस्तुतीकरणहरु, सहभागी भुतपूर्व सैनिकहरुसंग अन्तरक्रिया तथा छलफल लगायत नेपाली सेना सम्बन्धी बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

७. विगत डेढ दशकदेखि संचालन नभएको यस किसिमको सम्मेलन गत वर्ष सुदुरपश्चिमाञ्चल क्षेत्रबाट पुनः शुरु गरी यस बर्ष पूर्वाञ्चल क्षेत्रमा संचालन गरिएको छ भने यस प्रकारको सम्मेलन क्रमिक रुपमा अन्य विकास क्षेत्रहरुमा पनि सञ्चालन गर्ने योजना रहेको छ । यस किसिमको सम्मेलनबाट नेपाली सेना र भूतपूर्व सैनिकहरुकाबीच सामिप्यता, सहकार्य, सहयोग र स्वावलम्बन एवं आत्मनिर्भर बन्नका लागि अभिप्रेरित गर्दै समग्रमा राष्ट्रिय हित एवं समुन्नतीमा हातेमालो गर्दै अगाडी बढ्ने अवसर प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।