“नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को दोश्रो वार्षिकोत्सव सम्पन्न

१. मिति २०७१ जेष्ठ १९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

२. उक्त कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति महारथी श्री राणाले उक्त संस्थानको हाताभित्र निर्मित Auditorium Complex को उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको दौरान नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका सह–कार्यकारी निर्देशक प्रा.सहायकरथी (अ.प्रा.) डा. भैरव कुमार हमालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने संस्थानका कार्यकारी निर्देशक प्रा.उपरथी (अ.प्रा.) डा. प्रकाशराज पाण्डेले संस्थानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हिरा बहादुर महर्जनले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै Nepal Medical Council (NMC) का अध्यक्ष  प्राध्यापक डा. दामोदर गजुरेलले मन्तव्य राख्नु भएको थियो भने नर्सिङ्ग महाविद्यालयका प्रिन्सिपल प्रा.सहायकरथी प्राध्यापक डा. नर्भदा थापाले धन्यवाद मन्तव्य राख्नु भएको थियो 
। 
३. स्वास्थ्य सम्बन्धि उच्चस्तरिय जनशक्ति उत्पादन गरी स्वास्थ्य क्षेत्रमा राष्ट्रको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग पु¥याउने तथा उच्च स्तरीय स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाका बहालवाला र अवकाश प्राप्त व्यक्तिका छोराछोरी र सर्वसाधारणलाई समेत सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्नु संस्थानको मुख्य उद्देश्य रहेको छ । नेपाली सेना र राष्ट्रलाई आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मीको पेशागत दक्षतालाई अभिबृद्धि गरी राष्ट्रकै एक नमुना स्वास्थ्य शिक्षण संस्थानको रुपमा स्थापित गर्ने हेतुले मिति २०६९ जेष्ठ १० गते “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को समुद्घाटन सम्पन्न भएको थियो भने उक्त संस्थान श्री सैनिक कल्याणकारी कोषबाट संचालन गरिदै आएको छ । 

४. समारोहलाई सम्बोधन गर्नुहुंदै प्रधानसेनापति श्री राणाले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कोशे ढुङ्गा (Milestone) को रुपमा रहेको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको उद्देश्य नेपाली सेनाको स्वास्थ्य सेवालाई विस्तार गर्दै स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा एवं स्वास्थ्य विज्ञान शिक्षा प्रदान गर्ने र उक्त संस्थानको परिकल्पना Center of Excellence को रुपमा स्थापित गर्ने रहेको जानकारी गराउनु हुँदै नयाँ शैक्षिक शत्रबाट College of Medical Polytechnic संचालनमा ल्याउने र क्रमिक रुपमा Dental College संचालन गर्ने लक्ष्य रहेको बताउनु भएको थियो । साथै निकट भविष्यमै अत्याधुनिक सुविधा सम्पन्न Veterans" and Civil Hospital निर्माण कार्यको थालनी गरी नेपाली सेनाको अवकाश प्राप्त भूतपूर्व सैनिक लगायत आम नेपाली नागरिकहरुलाई स्तरिय स्वास्थ्य सुविधा प्रदान गर्ने उत्कट अभिलाषा समेत रहेको बताउनु भएको थियो । सम्बोधन पश्चात प्रधानसेनापति महारथी श्री राणाले नर्सिङ्ग महाविद्यालय तथा चिकित्साशास्त्र महाविद्यालयमा संचालित बार्षिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थी तथा महाविद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई मोमेन्टो तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । 

५. उक्त वार्षिकोत्सव समारोहमा त्रिभुवन विश्व विद्यालयका उपकुलपति, का.मु. रक्षा सचिव, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, शिक्षाविद्, नेपाली सेनाका रथीबृन्दहरु, त्रि.वि.वि. लगायत स्वास्थ्य शिक्षा संस्थानका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, संचारकर्मी, स्थानिय व्यक्तित्वहरु लगायत संस्थानमा अध्ययनरत विद्यार्थीहरु तथा तीनका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।