प्रधानसेनापतिबाट विशेष फौजद्वारा प्रस्तुत डेमोष्ट्रेशनको अवलोकन

१. हिजो मिति २०७१ जेष्ठ १८ गते साँझ प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्य तथा रथीबृन्दहरुको समुपस्थितीमा सुर्यविनायकस्थित फायरिङ्ग रेञ्जमा विशेष फौजद्वारा नेपाली सेनासंग भएका विभिन्न नाईटभिजन डिभाईस (NVD) हरुको साथै विशेष फौजले संचालन गर्ने महत्वपूर्ण अप्रेशनहरु सम्बन्धि प्रदर्शनी सम्पन्न भएको थियो । 

२. उक्त कार्यक्रममा नेपालको विषम भौगोलिक परिवेश र प्रतिकुल मौसममा रातको समयमा (NVD) को प्रयोग गरी गरिने विभिन्न सैनिक युद्धकलाको प्रदर्शनी गरिएको थियो । उक्त युद्धकला अन्तर्गत क्याम्प अट्याक, रुम सुटिङ्ग र एयर क्रा एन्टि हाईज्याकिङ्ग ड्रिलको समेत प्रदर्शनी भएको थियो । साथै प्रधानसेनापति महारथी श्री राणाले नेपाली सेनामा प्रयोगमा रहेका विभिन्न (NVD) हरुको निरिक्षण गर्नुका साथै (NVD) हरुको प्रयोग गरी विभिन्न हतियारहरुबाट गरिएको फायरिङ्गको समेत अवलोकन गर्नुभएको थियो । 

३. प्रधानसेनापति महारथी श्री राणाको भिजन स्टेटमेण्टमा उल्लेख भएनुसार नेपाली सेनाको तालिमलाई प्रभावकारी र असरदार बनाउँदै पेशागत दक्षता अभिबृद्धि गर्ने नीति रहेको सन्दर्भमा विशेष फौजद्वारा प्रदर्शित उक्त डेमोष्ट्रेसनले वदलिदो सुरक्षा परिवेशमा सैनिक कारवाहीको प्रभावकारीता तथा पेशागत दक्षतामा नयाँ आयाम थप्ने कुरामा नेपाली सेना विश्वस्त छ ।