प्रधानसेनापति छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणको लागि प्रस्थान

१. छिमेकी मित्र राष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC को औपचारिक निमन्त्रणामा मिति २०७१ जेष्ठ २७ गतेदेखि २०७१ आषाढ ३ गतेसम्म सप्ताहव्यापी भ्रमणको लागि प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा सहित तीन सदस्यीय भ्रमण दल आज मिति २०७१ जेष्ठ २७ गते भारततर्फ प्रस्थान भएको छ ।

२. प्रधानसेनापति श्री राणालाई बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । भारत प्रस्थान गर्नुपूर्व प्रधासेनापति श्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

३. मिति २०७१ जेष्ठ ३१ गते देहरादुनस्थित भारतीय सेनाको Indian Military Academy (IMA) मा संचालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज (Passing Out Parade) को Chief Reviewing Officer को रुपमा प्रमुख आतिथ्यको लागि भारतीय स्थल सेनाध्यक्षबाट औपचारिक निमन्त्रणा प्राप्त भए अनुसार प्रधानसेनापति श्री राणा त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।

४. भारत भ्रमणको दौरान प्रधानसेनापति श्री राणाले भारतीय स्थल सेनाध्यक्ष, जल सेनाध्यक्ष र वायु सेना प्रमुखहरुसंग छुट्टाछुट्टै भेटघाट गर्नुका साथै भारतका रक्षामन्त्री श्री अरुण जेट्लीसंग पनि भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ । साथै भारत भ्रमणको अवसरमा वहांले National Defence College (NDC) र Research and Referral Hospital New Delhi तथा Central Command अन्तरगतका फर्मेशन तथा युनिटहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।

५. छिमेकी मित्रराष्ट्रहरु संगको आपसी सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिने सिलसिलामा नेपाली सेनाका प्रधानसेनापतिले गर्न लाग्नु भएको मित्रराष्ट्र भारतको यो तेश्रो औपचारिक भ्रमण 
हो । प्रधानसेनापतिको यस भ्रमणले नेपाल र भारतबीचको परम्परागत सैनिक सम्बन्धका अलावा दुई देशबीचको आपसी सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउने विश्वास लिईएको छ ।

६. प्रधानसेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले का.मु. प्रधानसेनापतिको कार्य सम्हाल्नु हुनेछ ।