सैनिक अनुशासन तथा आचरण विपरित कार्य गर्ने सैनिक व्यक्तिहरु दण्डित

१. रसुवा जिल्लाको लाङ्गटाङ्ग ईलाकामा ट्रेकिङ्गको लागि गएका तीन जना फ्रान्सेली पर्यटकहरुलाई अनपेक्षित र अमर्यादित प्रश्नहरु सोधी यौन दुव्र्यवहार गरी सैनिक अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा संलग्न सैनिक व्यक्तिहरुलाई समरी जनरल सैनिक अदालतबाट निम्न बमोजिम हुने गरी फैसला भएको छ ।
  • (क) पट्रोल खट्टिएको समयमा फ्रान्सेली किशोरीलाई यौन दुर्व्यवहार हुने गरी गम्भीर अपराधिक कार्य गरी अशिष्ट, निन्दनिय काम गर्नुका साथै सुव्यवस्था तथा सैनिक अनुशासन विरुद्ध हुने कामसमेत गरेको देखिएकोले श्री ईन्द्रबक्स गणका सिपाही टंक बहादुर कुमाललाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य न (न) ठहरिने गरी सेवाबाट हटाउने ।
  • (ख) पट्रोल कमाण्डरको हैसियतले सुव्यवस्था कायम राख्न गर्नु पर्ने दायित्व पूरा नगरेको देखिएकोले सोही गणका अमल्दार डिल्लीराम पौडेललाई हालको अमल्दार दर्जाबाट १ (एक) दर्जा घटुवा गरी प्यूठ दर्जा कायम गर्ने ।
  • (ग) अनुकूल वातावरण मिलेमा फ्रान्सेली किशोरीहरुसँग शारीरिक सम्पर्क राख्ने मनसाय लिई उनीहरुलाई पिछा गर्नुको साथै सिपाही टंक बहादुर कुमालले फ्रान्सेली किशोरीउपर यौन दुर्व्यवहार हुने गम्भीर अपराधिक कार्य गर्दासमेत चुप लागि घटनाको सम्बन्धमा कहीँकतै प्रतिवेदनसमेत नगरी सुव्यवस्था तथा सैनिक अनुशासन विरुद्ध काम गरेको देखिएकोले सोही गणका सिपाही नारायण बिडरी र सिपाही कुण्डलसिंह धामीलाई ३ (तीन) वर्ष बढुवा रोक्का गर्ने ।
  • (घ) नीति निर्देशन विपरित बेथितीपूर्ण तरिकाबाट पट्रोल खटाई पोष्टपतिको हैसियतले सुव्यवस्था कायम राख्न गर्नुपर्ने दायित्व पूरा नगरेको देखिएकोले सोही गणका जमदार बुद्धि बहादुर कुमाईलाई १ (एक) वर्ष तलब बृद्धि रोक्का गर्ने ।
२. उपरोक्त घटना मिति २०६७ असार ०३ गते लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जको मुण्डु सोन्धुम भन्ने ठाउँमा घटेको थियो ।