अमेरिकी सरकारद्धारा नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त Acrow Birdge हस्तान्तरण

१. मित्रराष्ट्र अमेरिकी सरकारद्धारा नेपाली सेनालाई सहयोग स्वरुप उपलब्ध ४ वटा  Acrow Birdge  आज मिति २०७१ असार १७ गते काठमाण्डौ, थानकोटस्थित बृजिङ्ग महाशाखामा अमेरिकी सरकारका तर्फबाट नेपालस्थित अमेरिकी राजदुत Peter W. Bodde ले प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.लाई एक समारोहकाबीच हस्तान्तरण गर्नु भएको छ । 

२. प्राकृतिक विपद्का कारण काठमाण्डौ आउने प्रमुख राजमार्ग अवरुद्ध भएमा आवागमनलाई सूचारु गरी राजधानीको आपुर्ति तथा आवागमनलाई नियमित गर्न सहज हुने गरी उक्त ब्रिजहरु पृथ्वीराजमार्ग, महेन्द्र राजमार्ग लगायतका विभिन्न स्थानहरुमा तयारी हालतमा राखिनेछन् । स्थायी र अस्थाई रुपमा प्रयोग गर्न सकिने तथा पिन र बोल्टको प्रयोग गरी १२ घण्टा भित्र जडान गर्न सकिने उक्त ब्रिजहरु विपद्को दौरान Main Supply Route (MSR) खुला गर्न, सडक निर्माण कार्य तथा पुरानो बेलीब्रिजको बदलामा प्रयोग गर्न उपयुक्त हुनेछन् । ३० टन देखि १२० टनसम्म भारवहन क्षमता भएका उक्त ब्रिजहरुको लम्बाई ७६.२८ मिटर र चौडाई ५.५ मिटर रहेको छ । Military Bailey Bridge लाई परिमार्जन गरी उत्पादन गरिएको उक्त Acrow Bridgeनेपालजस्तो भौगोलिक बनावट भएको राष्ट्रलाई निकै उपयोगी हुन्छ ।

३. उक्त हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, अमेरिकी दुतावासका कर्मचारीहरु विभिन्न मन्त्रालय, सडक विभाग, नेपाल रेडक्रस लगायत विपद् व्यवस्थापन कार्यसंग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
४. अमेरिकी सरकारका तर्फबाट नेपाली सेनाको लागि प्राप्त ती सहयोग सामाग्रीहरुले भविष्यमा हुन सक्ने विपद् व्यवस्थापन क्षमतालाई अभिबृद्धि गर्नुका साथै निरन्तर रहंदै आएको द्धिपक्षिय सहयोगको क्षेत्रलाई अझ विस्तार गर्न मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।