नेपाली सेनाद्धारा उद्धार

१. मिति २०७१ श्रावण १७ गतेको करिव ०२३० बजे सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा पहिरो गई सुनकोशी नदी थुनिएको जानकारी प्राप्त हुनासाथ सो को प्रभावबारे जानकारी तथा छलफल गरी त्यसबाट हुन सक्ने जनधनको क्षतिलाई न्युनिकरण गर्न नेपाली सेनाले गृहकार्य गरी अन्तरगतका सम्पुर्ण निकायहरुलाई सजग र सतर्क राखी आवश्यकता अनुसार तुरुन्त परिचालन गरेको थियो । 

२. उक्त घटना पश्चात घटनास्थलमा तुरुन्त फौज परिचालन गरिएको थियो । विहान सवेरै विपद् व्यवस्थापन संग सरोकार राख्ने सम्बद्ध पक्षहरुसहित नेपाली सेनाको क्षति मुल्याङ्कन टोलीले हवाई तथा स्थलगत निरीक्षण गरे पश्चात नेपाली सेनाको विशेष टोलीले पहिरोको कारणले रोखिएको नदीको बहावलाई नियन्त्रित बहाव सुरु गरी क्षतिलाई न्युनिकरण गर्न २ पटक विष्फोटक पदार्थ प्रयोग गरी रोकिएको नदीको बहाव पुनः सुरु भएको छ । 

३. पहिरोबाट नदीको करिव २०० मिटर लम्बाई र करिव १५० मिटर उचाईको क्षेत्र पुरिएको थियो । जसले सुनकोशी नदीको पानीको बहावलाई अवरुद्ध गरी उक्त स्थानभन्दा मुनिका क्षेत्रलाई खतराजन्य क्षेत्रमा परिणत गरेको छ । उक्त खतरालाई न्युनिकरण गर्न नेपाली सेनाको ईन्जिनियर्स टोली उक्त स्थानमा परिचालन भई पानीको बहावलाई नियन्त्रित तरिकाले बहाव सुरु गर्न गरेको प्रयास सफल भएको छ । जसबाट संभावित क्षतिलाई न्युनिकरण गर्न र नियन्त्रण गर्न सकिएको छ । उक्त स्थानभन्दा तलतिर रहेका जोखिमपूर्ण बस्ती र क्षेत्रहरुलाई सुरक्षित बनाउन नेपाली सेनाका जवानहरु परिचालन भएका छन् । साथै उक्त घटनास्थलमा नेपाली सेनाको उद्धार टोलीले घाईते तथा विरामीहरुको उद्धार तथा पहिरोमा पुरिएको स्थानहरुमा खोज तलाशको कार्य व्यापक रुपमा संचालन गरिरहेको छ । 

४. उक्त घटनामा परी हालसम्म ८ जनाको मृत्यु, १७ जना घाईते हुनुका साथै करिव ४० घर पुरिएको छ । साथै घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट घाईते विरामीहरुलाई उपचारको लागि काठमाण्डौ ल्याईएको छ ।

५. नेपाली सेनाले विपद् व्यवस्थापन सम्बन्धी नीति र व्यवस्था अनुसार तुरुन्त सक्रिय भई उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्दै उक्त विपद्ग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यापक रुपमा संचालन गर्दै क्षति न्युनिकरण गर्न खट्टि रहेको र यस किसिमको विपद् जहां कहिं भएपनि नेपाली सेना तुरुन्त खट्टिई उद्धार कार्य संचालन गर्दै आईरहेको छ र भविष्यमा पनि गर्दै जानेछ ।