नेपाली सेनाले विष्फोटक पदार्थको प्रयोग गरेपछि सुनकोशी नदीको पानीको वहावमा बृद्धि

१. मिति २०७१ श्रावण १७ गतेको करिव ०२३० बजे सिन्धुपाल्चोक जिल्लाको राम्चे  गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई नेपाली सेनाले आज दुई पटक विष्फोटन मार्फत निकाश खोली पानीको वहावलाई बृद्धि गराएको छ । तल्लो तटिय क्षेत्रमा हुन सक्ने क्षतिको संभावनालाई ध्यानमा राखी सावधानीका साथ पानीलाई नियन्त्रित तथा नियमित बहावमा परिणत गरी उक्त क्षतिलाई न्युनिकरण गर्नु तत्कालको आवश्यकता रहेको छ । 

२. उच्च जोखिम रहेता पनि कृतिम तालको पानीलाई सक्दो चांडो घटाउनको लागि नेपाली सेनाले आज गराईएको विष्फोटको फलस्वरुप उक्त तालको पानीको भित्री बहाव (Inflow) १८० क्युसेक रहेको र बाहिरी बहाव (Outflow)  २०४ क्युसेक रहेको छ । आज उक्त कृतिम तालको पानीको सतह करिव ३० से.मि. घट्न गएको छ । उक्त कृतिम तालमा रहेको पानीलाई Regulated Flow नगराई एकै चोटी उक्त पहिरो हटाउंदा तल्लो तटिय क्षेत्रमा पुग्ने क्षतिलाई दृष्टिगत गरी आवश्यक समय लिई क्रमिक रुपमा कार्य सम्पादन गर्दा क्षतिलाई रोक्न सकिने हुंदा  विज्ञहरुको सल्लाह अनुसार नेपाली सेनाले यस कार्यविधि अपनाएको हो ।

३. नेपाल सरकारको अनुरोधमा आएका भारतीय प्राविधिक टोलीले समेत उक्त स्थानको अवलोकन गरेको र हाल नेपाली सेनाले नदीको वहावलाई नियमन गर्न अपनाई रहेको कार्यविधि उपयुक्त भएकोले त्यही विधिलाई निरन्तरता दिन सुझाव दिएको छ । साथै उक्त प्रकोप व्यवस्थापनलाई सहज ढंगले अगाडी बढाउन हाल नेपाली सेनाले अपनाएको विधि नै उपयुक्त भएको राय त्रि.वि.वि.का Associate Prof.  डा.श्री रञ्जन कुमार दाहालले समेत उक्त स्थानको अवलोकन पश्चात बताउनु भयो । आज उक्त स्थानमा नेपाल सरकारका जलउत्पन्न प्रकोप नियन्त्रण विभाग, जल तथा मौसम विज्ञान विभाग र खानी तथा भूगर्व विभागका विज्ञहरुले समेत स्थलगत अवलोकन गरेको र उक्त विभागका विशेषज्ञहरु सोही स्थानमा रहने र उनीहरुको प्राविधिक राय सुझाव समेत लिई नेपाली सेनाले उक्त कृतिम तालको पानी यथासक्दो चांडो खाली गर्ने तर्फ कार्य अगाडी बढाई रहेको छ । 

४. सो कार्यका लागि भूगर्व विज्ञ, वातावरण विज्ञ एवं अन्य विशेषज्ञ, सडक विभागका प्रतिनिधी र अन्य दक्ष प्राविधिकहरुद्धारा स्थलगत अनुगमन र छलफल पछि मेकानिकल साधन (Excavator तथा Dozer) हरुको समेत प्रयोग गरी उक्त तालको रुपमा रहेको पानीलाई क्रमिक रुपमा नियमित बहावमा (Regulated Flow) परिणत गर्ने योजना नेपाली सेनाले बनाएको छ । त्यसका लागि आवश्यक पर्ने श्रोत, साधन र जनशक्तिलाई परिचालन गरि उक्त पानीलाई सक्दो चाँडो गहिरो र फराकिलो निकाश गराई अवरुद्ध कोदारी राजमार्गलाई समेत जतिसक्दो चांडो सुचारु गर्ने योजना रहेको छ ।