नेपाली सेनाको मूलग्रन्थ विमोचन

१. आज मिति २०७१ श्रावण २८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले जंगी अड्डामा आयोजित एक समारोहका बीच नेपाली सेनाको मूलग्रन्थ (Nepalese Army Doctrine) विमोचन गर्नु भएको छ । 

२. नेपाली सेनालाई राष्ट्रिय सुरक्षा परिवेश अनुकुल समय सापेक्ष बनाउंदै लैजाने उद्देश्यका साथ प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन अनुसार वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरुलाई दृष्टिगत गरी ‘नेपाली सेनाको मूलग्रन्थ—२०७०’ प्रकाशनमा ल्याईएको हो । यो मूलग्रन्थ सेनाको जिम्मेवारी तथा भूमिका, युद्धदर्शन, सिद्धान्त एवम् अवधारणामा केन्द्रित रही १२ भागमा विभक्त गरिएको छ । जस अन्तर्गत सैनिक ईन्टेलिजेन्स, तालिम, प्रतिविद्रोह, विश्व शान्ति स्थापना कार्य, प्रकृति संरक्षण, विपद् जोखिम व्यवस्थापन, राष्ट्र निर्माण तथा विकास, नेतृत्व, सैनिक हवाई सेवा, कल्याणकारी तथा लजिष्टिक जस्ता प्रधान विषयहरुलाई उक्त  मूलग्रन्थमा समावेश गरिएको छ । 

३. नेपालको अन्तरिम संविधान २०६३, राज्यका निर्देशक सिद्धान्त, नीति तथा राष्ट्रिय मान्यताहरु, सैनिक ऐन, विगतका अनुभवहरु, सर्वमान्य सिद्धान्त एवं अवधारणाहरु, नेपाली सेनाले व्यवहारमा लागू गर्दै आएका सिद्धान्तहरु लगायत प्रधानसेनापतिको मार्ग निर्देशनमा आधारित भई यो मूलग्रन्थ तयार गरिएको छ  ।

४. नेपाली सेनाले आवश्यक गृहकार्य एवम् बृहत छलफल तथा राष्ट्रिय सुरक्षा मामिला विज्ञ एवम् रक्षा मन्त्रालयका पदाधिकारीहरु समेतबाट प्राप्त सुझावहरुलाई समावेश गरी तयार गरिएको यस मूलग्रन्थले राष्ट्रिय हित एवम् सुरक्षा जस्तो गहन विषयलाई परिभाषित गर्दै सबैमा साझा सोचको विकास गर्नुका अतिरिक्त भविष्यमा नेपाल सरकारले निर्माण गर्ने ‘बृहत् राष्ट्रिय सुरक्षा नीति’ (Comprehensive National Security Policy) का लागि समेत सहयोगी सामग्रीको रुपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ ।